काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १ गते सत्रौं साधारण सभा बोलाएको छ । सञ्चालक समितिको साउन १२ गते बसेको १९६ औं बैठकको निर्णय अनुसार कम्पनीले साधारण सभा बोलाएको हो ।
प्रुडेन्सियलको साधरण सभा होटल दियालो लर्ड प्लाजा आदर्शनगर वीरगञ्जमा हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब सहितको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण, रिक्त्त संचालक नियुक्ति र स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्ने समान्य प्रस्ताव रहेका छन् ।
साधारण सभाका लागि कम्पनीले साउन २० गतेदेखि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार साउन १९ गते आइतबारसम्म कायम रहेका शेयरधनीहरुले सभामा सहभागी हुन पाउनेछन् ।
शेयरधनीले पनि लाभांश नपाउने
प्रुडेन्सियलका सेयरधनीको हात रित्तो हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट कुनै पनि लाभांश नपाउने भएका छन्।
बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अनुरुप कम्पनीले गरेको मुनाफा जगेडा तथा व्यवस्थामा खर्चनुपर्ने भएकाले आर्थिक वर्ष २०७४/७५ को लागि बोनस शेयर तथा लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ ।
बीमा सािमतिले तोकेको न्यूनतम १ अर्ब पूँजी कायम गर्ने प्रक्रियामा रहेको यस कम्पनीले गत असार १० गतेको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ।