जारी भएको ४ वर्षपछि अलैँचीको ‘ट्रेडमार्क’ कार्यान्वयनमा आउँदै, तीन गुणस्तरमा वर्गीकरण

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ ।

 

सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तान अलैँची लैजान सकिन्छ ।

 

निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक ट्रेडमार्क जारी गरेको थियो । ट्रेडमार्क निर्माणका लागि निजी क्षेत्र (अलैँची व्यवसायी सङ्घ)ले २०६७ सालदेखि गृहकार्य शुरु गरेको थियो । विभिन्न समितिमार्फत निर्माण भएको ट्रेडमार्कमा सगरमाथाको चिह्न र अलैँचीको दाना राखिएको छ ।

 

ट्रेडमार्क कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ । सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट (जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी (एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन (सीसी) मा वर्गीकरण गरिएको छ ।

 

ट्रेडमार्कमा सगरमाथा राखेपछि नेपालको अलैँची भनेर चिनाउन सहज हुने भएकाले सगरमाथा राखिएको अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले जानकारी दिए।

 

ट्रेडमार्क कार्यान्वयनपछि नेपाली अलैँचीको गुणस्तर सुधार हुने व्यवसायीको भनाइ छ । ‘हामीले अन्तर्राष्ट्रिय बजारमा अलैँची पठाउँदा ट्रेडमार्कअनुसार गुणस्तरमा ध्यान दिनुपर्छ अन्यथा अलैँची निर्यात नहुन सक्छ,’ महासचिव भट्टराईले भने।

 

ट्रेडमार्क कार्यान्वयनका लागि कानून व्यवसायी/परामर्शदातामार्फत अलैँची निर्यात हुने मुलुकमा सन्देश पठाइएको छ । सरकारबाट लोगो जारी भएपछि भारत, पाकिस्तान र यूएईमा ट्रेडमार्क पठाइएको थियो । ‘हाम्रोबाट मुख्य तीन देशमा बढी अलैँची जाने भएकाले यी देशमा पठाइहालेका हौँ,’ भट्टराईले भने, ‘पाकिस्तानबाट चाहिँ लोगो स्वीकृति भएर आयो । अन्य देशमा प्रक्रियामा छ ।’

 

ट्रेडमार्क कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ । सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट (जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी (एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन (सीसी) मा वर्गीकरण गरिएको छ ।

 

व्यवसायीले अलैँची निर्यातका क्रममा किसानसँग समेत वर्गीकरण छुट्याएर किन्नु पर्ने मापदण्ड रहेको महासङ्घका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । तीनवटा मापदण्डमा छुट्याउँदा किसानले अलैँचीको मूल्य पनि मापदण्डअनुसारकै गुणस्तरअनुसार फरक/फरक पाउने कार्कीको भनाइ छ ।

 

ट्रेडमार्क जारी भएलगत्तै विभिन्न मुलुकमा पठाए पनि ‘अत्यन्तै’ ढिला मात्रै प्रतिक्रिया आएको हो । ‘कानून व्यवसायीमार्फत काम गर्नुपर्छ । कस्तो प्रतिक्रिया आउँदैछ भनेर सोध्यौँ, ठिकै छ भन्नुहुन्छ । सबैकुरा बुझिँदैन,’ महासङ्घका पूर्वअध्यक्ष निर्मल भट्टराईले भने, ‘पाकिस्तानबाट त हुन्छ भन्ने प्रतिक्रिया आयो अन्य देशबाट पनि आउँछ भन्ने प्रतीक्षामा छौँ ।’ नेपालको अलैँची हालसम्म भारतकै ट्रेडमार्कमा निर्यात हुन्छ । नेपालबाट अलैँची पठाए पनि कतिपय देशमा ट्रेडमार्क नहुँदा भारतीय अलैँचीकै ब्राण्डमा चिनिन्छ ।

 

भारतमार्फत अहिले अलैँची निर्यात गर्नुपर्दा पटकपटक समस्या पर्ने गरेको छ । ‘भारत हाम्रो अलैँची जाने माध्यम पनि हो र प्रतिस्पर्धी पनि हो । त्यसैले समस्या आउँछ,’ व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले भने, ‘तर ट्रेडमार्क कार्यान्वयनमा आएपछि भने केही सहज होला ।’

 

खाडी मुलुकमा ‘हलाल सर्टिफिकेट’

 

अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि ट्रेडमार्क कार्यान्वयनमा ल्याए पनि खाडी मुलुकमा भने नेपालबाट जाने अलैँचीमा उल्लेखनीय सुधार हुनुपर्ने व्यवसायीको भनाइ छ । खाडी मुलुकमा अलैँचीको मूल्य भने अन्य मुलुकको भन्दा बढी हुन्छ तर गुणस्तरीय बनाउन नसक्दा अलैँची नबिक्ने सम्भावना हुन्छ । ‘नाङ्गो हातले अलैँची टिप्न मिल्दैन र बास्नादार अलैँची चाहिन्छ,’ महासङ्घका अध्यक्ष कार्कीले भने, ‘किसानलाई अलैँचीसम्बन्धी तालीमको खाँचो पर्छ । सबैतर्फबाट गर्नुपर्छ ।’

 

अलैँचीको गुणस्तर सुधार्नका लागि भने सरकारी निकायको चासो बढ्नु पर्ने कार्कीको भनाइ छ । ‘कृषिका राम्रै मान्छेलाई पनि अलैँचीको बारेमा अझै थाहा छैन । प्रोत्साहनका कार्यक्रम चाहिन्छ,’ उनले भने, ‘भट्टी सुधारका कार्यक्रमसमेत चाहिन्छ ।’

 

नेपालबाट ट्रेडमार्क लागेर गएपछि बिक्री भएको मुलुकमा बाहेक अन्य मुलुकमा अलैँचीको प्याकिङ खोल्न मिल्दैन । यसले गर्दा अलैँची व्यवस्थित हुने भएकाले अलैँची गुणस्तरीय हुने बताउँछन् कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेल । ‘अहिले हाम्रो ९५ प्रतिशत अलैँची भारत जान्छ । ट्रेडमार्क आएपछि भने भारतकै मातहतबाट जाने अलैँची पनि हाम्रै भनेर चिनिन्छ ।’

 

कति निर्यात हुन्छ अलैँची ?

 

सरकारले कृषिजन्य पदार्थको निकासीमा प्रवद्र्धन गरे पनि अलैँचीको निर्यात भने घट्दो क्रममा देखिन्छ तर सरकारको प्रथमिकता अलैँचीमा कम परेको व्यवसायी बताउँछन् । भारत निर्यात गर्दा भन्सार समायोजन नहुँदा पनि व्यवसायीले बढी रकम बुझाउनु परेको व्यवसायी बताउँछन् ।

 

भारतमा उत्पादन हुने अलैँचीमा भारतको सहयोग अत्यन्तै बढी छ तर नेपालमा भने किसानको मात्र प्रयत्नले अलैँची उत्पादन हुन्छ । आर्थिक वर्ष २०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव २०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको वैदेशिक रोजगार तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ ।

 

आव २०७५/७६ मा ४ अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँको अलैँची निर्यात भएकामा गत आव २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । गत आवमा ६.२ प्रतिशतको परिणामले गिरावट आएको हो ।

काठमाडौंमा ४४५ सहित अहिलेसम्मकै धेरै जनामा कोरोना पुष्टि, ९१७ डिस्चार्ज, ६ जनाको मृत्यु Read Previous

काठमाडौंमा ४४५ सहित अहिलेसम्मकै धेरै जनामा कोरोना पुष्टि, ९१७ डिस्चार्ज, ६ जनाको मृत्यु

हिमालयद्वारा नियमित उडानको भाडादर सार्वजनिक, कुन गन्तव्यको कति Read Next

हिमालयद्वारा नियमित उडानको भाडादर सार्वजनिक, कुन गन्तव्यको कति