काठमाडौं। कुमारी बैंकमा खाता खोल्दा २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने भएको छ। बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत परिवारका कुनै एक सदस्यको खाता खोल्दा पूरै परिवारले बीमा सुविधा पाउने योजना ल्याएको हो।
बैंकले नेपालमै पहिलो पटक प्रस्तुत गरेको यो खाता परिवारका बुबा अथवा आमाले खोल्न सक्ने छन्। बुबा आमामध्ये एकले खाता खोल्दा दम्पती सहित दुई जना छोरा छोरीले बीमा सुविधा पाउने बैंकले जनाएको छ ।
यस खाता अन्तर्गत परिवारका चारै सदस्यले १० प्राणघातक रोगहरुका लागि ५ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउने छन्। दम्पतीले १०/१० लाख रुपैयाँको दरले २० लाख रुपैयाँसम्म आकस्मिक दुर्घटना बीमाका साथै पूर्ण शारिरिक अशक्तताको समेत बीमा सुविधा पाउने बैंकले जनाएको छ।
यो खाता खोल्न न्यूनतम १० हजार रुपैयाँ नगद मौज्दात हुनुपर्नेछ। बैंकमा यो नगद भएसम्मका लागि बीमा सुविधा पाइने भण्डारीले जानकारी दिए। निक्षेप सदस्यले उक्त नगदको वार्षिक ६.५ व्याजदर पाउने छन्।
बैंकले खाता खोलेको पहिलो वर्षको लागि इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क दिने छ भने दोस्रो वर्षदेखि न्यूनतम शुल्क लिनेछ।
बैंकले देशभर १०० शाखा, ९९ एटिएम, तीन एक्सटेन्सन काउन्टर, तीन शाखा रहित काउन्टर मार्फत ग्राहकलाई बैंकिङ सेवा दिदै आएको छ।