काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकको ब्याजदर सस्तो हुन थालेको छ ।
गत चैतदेखि कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण देशको समग्र आर्थिक क्रियाकलाप नै ठप्प प्रायः हुँदा नयाँ कर्जा लगानी हुन सकेको छैन । यसले गर्दा गर्दा बैंकहरुमा अधिक पैसा थुप्रिएको छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा २ खर्बभन्दा बढी तरलता (लगानी योग्य रकम) छ । अधिक तरलता भएपछि राष्ट्र बैंकले साउन यता मात्रै बैंकिङ प्रणालीबाट तीन पटक रिपो मार्फत करिब ५० अर्ब रुपैयाँ तानेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरुको ब्याजदर ४ वर्ष यताकै सस्तो भएको छ । गत आवको असार मसान्तसम्ममा बैंकहरुको औसत ब्याजदर निक्षेपमा ६.०१ प्रतिशत, कर्जामा १०.११ र आधरदर ८.५० प्रतिशत रहेको छ । यो २०७४ असार यताकै सस्तो हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा त्यसको प्रभाव कर्जाको ब्याजदरमा परेको छ । पैसा बैंकमै थुप्रिएपछि अहिले बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाएका छन् । यस्तै, आधारदर (बेसरेट) पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरुको ब्याजदर ४ वर्ष यताकै सस्तो भएको छ । गत आवको असार मसान्तसम्ममा बैंकहरुको औसत ब्याजदर निक्षेपमा ६.०१ प्रतिशत, कर्जामा १०.११ र आधरदर ८.५० प्रतिशत रहेको छ । यो २०७४ असार यताकै सस्तो हो ।
यसअघि २०७३ को असारमा बैंकको ब्याजदर यो भन्दा पनि सस्तो भएको थियो । २०७३ असारमा निक्षेपको औसत ब्जादर ३.२८ प्रतिशत, कर्जाको ब्याजदर ८.८६ प्रतिशत र आधारदर ६.५० प्रतिशत रहेको थियो ।
२०७३ असारपछि बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा कर्जाको ब्याजदर १३देखि १७ प्रतिशतसम्म पुगेको थियो । बैंकहरुबीच निक्षेप तान्ने अस्वस्थ्य प्रतिस्पर्धा चल्दा निक्षेपको ब्याज नै १३ प्रतिशतसम्म दिने होडबाजी चलेको थियो ।
यस्तै महँगोमा निक्षेप उठाएर ऋण लगानी गर्दा बैंकहरुले कर्जाको ब्याजदर १७ प्रतिशतसम्म पुर्याएका थिए । २०७५ मा बैंकहरुको आधारदर नै १०.४७ प्रतिशतसम्म पुगेको थियो । त्यसमा बैंकहरुले न्यूनतम ०.५ प्रतिशतदेखि ५ प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्ने गरेका थिए । जसले गर्दा कर्जाको ब्याजदर करिब १७ प्रतिशतसम्म पुगेको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा बैंकको ब्याजदर औसतमा निक्षेपमा ६.१५, कर्जामा ११.३३ र आधारदर ९.८९ प्रतिशत, २०७४/७५ मा निक्षेपमा ६.६.४९, कर्जामा १२.४७ र आधारदर १०.४७ प्रतिशत थियो । त्यस्तै २०७५/७६ मा निक्षेपमा ६.६०, कर्जामा १२.१३ र आधारदर ९.५७ प्रतिशत थियो ।

अघिल्ला ३ वर्षमा ब्याजदर महँगो हुँदा आन्दोलन नै गर्नुपर्ने अवस्था आएको थियो भने अहिले कर्जाको ब्याजदर एकल अंकको हुँदा पनि कर्जा लगानी हुन सकेको छैन भने निक्षेपमा ब्याजै आउन छाडेपछि निक्षेप सहकारी लगायत संस्थामा ‘डाइभर्ट’ हुन थालेको छ ।
कर्जा लगानी हुनै छाडेपछि सस्तो ब्याजका स्कीम ल्याउँदै बैंकहरु
पछिल्ला वर्षहरुमा चरम तरलता अभाव झेलेका बैंकहरुले अहिले बैंकमा प्रशस्त तरलता हुँदा पनि कर्जा विस्तार गर्न सकेका छैनन् ।
अहिले अधिकांश बैंकहरुको बेसरेट एकल अंकमा झरेको छ । कर्जाको ब्याजदर पनि ४ वर्ष यताकै सस्तो भएको छ । तर, कोरोनाका कारण आर्थिक गतिविधि सञ्चालन हुन नसक्दा कर्जाको माग नै हुन छाडेको बैंकरहरु बताउँछन् ।
बैंकमा पैसा थुप्रि रहने तर कर्जा माग नहुने अवस्था सृजना भएपछि बैंकहरुलाई निक्षेपको ब्याज कसरी दिने भन्ने टाउको दुखाइ हुन थालेको छ । एकातिर कोरोनाले गर्दा गत वर्षमा लगानी गरेको कर्जा असुल हुन सकेको छैन भने अर्कातिर नयाँ कर्जा विस्तार हुन नसक्दा बैंकहरुको व्यापारमा ठूलो असर परेको बैंकरहरुको भनाइ छ ।
यसरी कर्जाको माग नै हुन छाडेपछि बैंकहरुले ब्याजदर घटाउँदै कर्जा लगानी गर्न विभिन्न स्कीम ल्याउन थालेका छन् । बैंकहरुले पछिल्लो समय ग्राहकलाई आकर्षित गर्न सस्तो ब्याजमा गाडी, घरजग्गा, सेयर कर्जा लगायतका स्कीमहरु ल्याउन थालेका छन् ।
अहिले बैंकहरु बीच सस्तो ब्याजदरमा कर्जा लगानी गर्ने प्रतिस्पर्धा चल्न थालेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ५.८० प्रतिशत बेसरेटमै कर्जा दिन थालेका छ । यसमा बैंकले न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपि सेयर, घरजग्गा, सवारी कर्जा दिन थालेको छ ।
यस्तै सरकारी स्वामित्वकै नेपाल बैंकले पनि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ल्याएको छ ।
यस्तै निजी क्षेत्रका बैंकहरुले पनि सस्तो ब्याजमा विभिन्न कर्जा योजना ल्याएका छन् । एनएमबी बैंकले पनि ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने भनेका छ । २ वर्षको घर कर्जा लिनेले उक्त ब्याजदरमा कर्जा पाउने बैंकले जनाएको छ ।
यस्तै एनआइसी एसिया बैंकले पनि ८.२५ प्रतिशत ब्याजदरमै घरजग्गा कर्जा योजना ल्याएको छ । अहिले अधिकांश बैंकहरुले एकल अंकको ब्याजदरमै विभिन्न किसमिका कर्जा याजना ल्याइरहेका छन् ।