पशुपालनका लागि ३ नम्बर प्रदेश सरकारको ६ करोड अनुदान

काठमाडौं । प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब ६ करोड रुपैयाँ अनुदान वितरण गरेको छ ।

 

कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो ।

 

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पशु अनुदान शीर्षकअन्तर्गत ६ करोड ५२ लाख रुपैयाँ वितरण गरेको जनाएको छ ।

 

पशु व्यवसाय विकास तथा विस्तारका लागि मन्त्रालयले प्रदेशअन्तर्गत पर्ने १३ वटै जिल्लाका किसानलाई निश्चित कार्यविधि बनाएर अनुदान रकम वितरण गरेको हो ।

 

मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ वटा सहकारीमा १ करोड ५० लाख रुपैयाँ वितरण गरेको जनाएको छ । जसमा चितवनको ७४, मकवानपुर, काभ्रे र ललितपुरको २२/२२, दोलखाको दुई, धादिङ र नुवाकोटको एक/एक वटा सहकारी छन् ।

 

मन्त्रालयकी पशु विकास शाखा अधिकृत डा. सबिना मिश्रका अनुसार मन्त्रालयले दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने भनिए पनि रकम अभावका कारण २५ पैसा मात्रै वितरण गरिएको छ ।

 

त्यस्तै चितवन, दोलखा र मकवानपुरमा तीनवटा दाना उद्योग सञ्चालनका लागि रु एक करोड ६५ लाख ५४ हजार अनुदान वितरण गरिएको डा मिश्रले बताइन् ।

 

मन्त्रालयले चितवन, ललितपुर र हेटौँडामा तीनवटा पशु बधशाला निर्माणका लागि पनि बजेट दिएको छ । तीन जिल्लामा बधशालाका लागि रु एक करोड पचास लाख प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

 

 

त्यसैगरी प्रदेशभर १३ वटा पशु बधस्थल निर्माणका लागि रु ८६ लाख ७६ हजार खर्च भएको छ । प्रदेश मन्त्रालयले चितवन र धादिङमा तीन/तीन, सिन्धुली र दोलखामा एक/एक तथा ललितपुरमा पाँच पशु बधस्थल निर्माणमा उक्त रकम खर्च भएको जनाइएको छ ।

 

प्रदेशका तीन वटा जिल्लामा २३ वटा चिलिङ भ्याट खरिद गर्नका लागि एक करोड पचास लाख रुपैयाँ बजेट पठाएको मन्त्रालयले जनाएको छ ।

 

चितवनमा मात्रै १७ वटा चिलिङ भ्याटका लागि रकम दिइएको छ भने ललितपुरमा दुई, मकवानपुर, काठमाडौँ, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरमा एक÷एक वटा चिलिङ भ्याट खरिदमा अनुदान दिइएको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले २० वटा मिल्क एनलाइजर खरिद गर्नका लागि रु ९८ लाख २७ हजार विभिन्न पाँच वटा जिल्लामा अनुदानस्वरुप रकम वितरण गरेको छ । जसअनुसार चितवनमा १३, मकवानपुरमा तीन, काठमाडौँमा दुई, धादिङ र दोलखामा एक/एक वटा मिल्क एनालाइजर खरिद गरिएको बताइएको छ ।रासस

नेपाल सरकारका आधा दर्जनभन्दा बढी निकायका  वेबसाइट ह्याक Read Previous

नेपाल सरकारका आधा दर्जनभन्दा बढी निकायका  वेबसाइट ह्याक

सुविधा सम्पन्न प्रधानमन्त्री निवास निर्माणको काम भदौबाट सुरु हुँदै Read Next

सुविधा सम्पन्न प्रधानमन्त्री निवास निर्माणको काम भदौबाट सुरु हुँदै