काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन ।
निर्माणअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
गत जेठको पहिलो सातादेखि नै निर्माणको काम शुरु गरिए पनि कामदार अभावका कारण गति लिन सकेको थिएन, अहिले पनि थोरैको सङ्ख्यामा मात्र कामदारले काम गरिरहेका छन् ।
गत साउनको दोस्रो साता नै पोखरी निर्माण सकिए पनि त्यसमा पानी भर्न भने मेलम्चीनै कुर्नुपर्ने भएको छ । अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाईस्कुल र त्रिचन्द्र कलेजबाट आकासको पानी सङ्कलन गरी पोखरीमा राखे पनि त्यो पर्याप्त नहुने जनाइएको छ ।
हाल काम गरिरहेका कामदारले नै निरन्तर काम गर्न पाए आगामी असोजसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । बन्दाबन्दीअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । हाल ३२ कामदारले मात्रै काम गरिरहेका छन् ।
पोखरीमा पानी भर्न मेलम्ची नै कुर्नुपर्ने
गत साउनको दोस्रो साता नै पोखरी निर्माण सकिए पनि त्यसमा पानी भर्न भने मेलम्चीनै कुर्नुपर्ने भएको छ । अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाईस्कुल र त्रिचन्द्र कलेजबाट आकासको पानी सङ्कलन गरी पोखरीमा राखे पनि त्यो पर्याप्त नहुने जनाइएको छ ।
दीर्घकालिन रुपमा ती पोखरीमा पानी कहाँबाट राख्ने भन्ने बारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।
‘रानीपोखरी आसपासबाट बोरिङ्मार्फत पानी ल्याउने तयारी भएपनि स्थानीय र सम्पदा विज्ञहरुको अवरोधले काम अघि बढाउन सकिएको छैन्,’ उनले भने, ‘अब मेलम्चीको पानी राख्ने तयारी छ । त्यसका लागि केही समय कुर्नुपर्छ ।’
सरकारले आगामी असोजसम्म मेलम्चीको पानी काठमाडौं ल्याइने बताए पनि अझै कम्तीमा करिब ६ महिना लाग्ने जनाइएको छ । सुरुङमा पानी हालेर परीक्षण गर्ने क्रममा सुरुङको गेट नै भत्किएपछि आयोजना पर धकलिएको र हाल निर्माण भइरहेको छ । जसले गर्दा यता पोखरी निर्माण सम्पन्न भएपनि तत्कालै पानी भने भर्न नसकिने भएको छ ।
विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।
कोरोना भाइरस सङ्क्रमणका कारण केही समय ढिला भएपनि आगामी असोज महिनाभित्र पोखरीको पुनः निर्माणको कामले पूर्णता पाउने प्राधिकरणको दाबी छ ।
सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो । प्राधिकरणले मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गरी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।
पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ । राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।