काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक आइएमईले कोरोनाका बीच विदेशबाट पठाएको रकम सीधै वालेटमा प्राप्त गर्नसक्ने व्यवस्था सुरु गरेको छ ।
कम्पनीले आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिट्यान्स सुविधा सहज बनाएको हो ।
नयाँ सुविधा अन्तर्गत आफूलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ ।
प्रक्रिया अनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सक्नुहुनेछ । यदि तपाईंलाई पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सक्नुहुनेछ ।
त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सक्नुहुनेछ । यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ ।
आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज ५० रुपैयाँँ सम्मको बोनस पनि प्राप्त हुन्छ ।
भौतिक दूरी कायम गरी समुदायस्तरमा कोभिड– १९ रोग नफैल्ययाउन हाल सबैको जिम्मेवारी भएको छ । यस्तो बेलामा रकम त आवश्यक पर्छ नै, तर त्यसलाई कसरी प्राप्त गर्ने भन्ने ठूलो मर्का सेवाग्राहीहरूलाई अवश्य पनि पर्न जान्छ । यस्तो विषम परिस्थितिमा आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवा उपलब्ध गराउनेछ ।
परिस्थिति सामान्य हुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ ।