काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा करिब अढाई घण्टा कारोबार बन्द भएर फेरि खुलेको बजारमा करिब ५ अंकको वृद्धि भएको छ ।
गतसाता करिब ५९ अंकले बढेको बजार यो साता पनि पहिलो दिनमै उकालो लागेको छ । आज सिस्टमा समस्याका बाबजूद डेढ अर्बभन्दा बढीको कारोबार भएको छ ।
सेयर बजार मापक सूचक नेप्से ४.६४ अंकले बढेर १४६२.६८ बिन्दुमा आइपुगेको छ । यसदिन १८६ कम्पनीको १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने ३ समूहको सूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४६.३२ अंकले बढेको छ भने बैंकिङ समूहको परिसूचक ७.४४ अंकले घटेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ३४ करोड ३२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा एनएआरएन इन्फ्राइस्ट्रक्चर र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज पनि एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशतले नाफा कमाएका छन् ।
आज तारागाउँ होटलको सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । यसको सेयर मूल्य करिब ५.१६ प्रतिशतले घटेको छ ।