पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त, नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार अझै फर्केनन्

काठमाडौं । कामदार अभावका कारण राष्ट्रिय गौरवको योजना अन्तर्गत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त भएको छ ।

 

गत डिसेम्बरमा नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदारहरु कोरोना महामारीका कारण नफर्किँदा निर्धारित मितिभन्दा ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कामले अपेक्षित गति लिन नसकेको हो ।

 

हाल नेपाली कामदारले निर्माण जारी राखे पनि चिनियाँ कामदारले मात्रै गर्ने केही प्राविधिक कामहरु ठप्प भएका छन् । नियमित अन्तर्राष्ट्रिय हवाइ उडान नखुल्दा चिनियाँ कामदार आउन पाएका छैनन् । २४४ चिनियाँ कर्मचारीले गर्ने काम अझै पनि रोकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । विमानस्थल खुली हाले कम्तीमा १०० जना मात्र चिनियाँ कामदार ल्याउन सके कामले सोचे जति गति लिने उनी बताउछन् । उनले चिनियाँ कामदार नेपालमा कोरोना बढेकाले आउन डराइरहेको बताए ।

 

हाल नेपाली कामदारले निर्माण जारी राखे पनि चिनियाँ कामदारले मात्रै गर्ने केही प्राविधिक कामहरु ठप्प भएका छन् । चिनियाँ कामदारलाई पर्यटन भिसामा ल्याएर कामदार भिसामा परिणत गरी काम अगाडि बढाउने तयारी गरिए पनि अध्यागमन कार्यालय नखुल्दा प्रक्रिया अघि बढ्न सकेको छैन ।

 

‘हामीले निर्माण कम्पनीलाई चिनियाँ कामदारलाई ल्याउन चिठी पठाएका छौँ, उनीहरू विमानस्थल खुल्ना साथ पीसीआर, गरेर क्वारेन्टाइनमा राखेर भए पनि कामदार ल्याउने योजनामा छन्,’ मुनकर्मीले चाणक्य पोष्टसँग भने ‘अब सरकारले के निर्णय गर्छ त्यसमा भर पर्छ, सक्दो चाँडो विमानस्थल खोले उनीहरूलाई ल्याएर कामलाई तीव्र गति दिन सकिन्थ्यो ।’

 

चिनियाँ कामदारलाई नेपालमा पर्यटन भिसामा ल्याएर कामदार भिसामा परिणत गर्नु पर्ने भएकाले अध्ययागमन विभाग पनि खुल्नु पर्ने उनले बताए । उनका अनुसार चिनियाँ नयाँ वर्ष मनाउन गएका कर्मचारीहरू कोभिड १९ सुरु भएपछि विमानस्थल बन्द भएकाले उतै अड्कीएका छन् ।

 

आयोजनाका कुल ३४४ कामदार मध्ये २४४ चिनियाँ कामदार रहेका थिए भने अन्य नेपाली कामदारले अझै पनि काम गरिरहेका छन् । उनले हाल नेपाली कामदारमार्फत नै भए पनि निर्माण कार्य जारी राखिएको बताए ।

 

सन् २०२१ मा सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म यस आयोजनाको भौतिक प्रगति ६१ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ५१ प्रतिशत रहेको छ । समग्र आयोजनाको ६२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाका लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहणसम्बन्धी प्रारम्भिक कार्य सम्पन्न भएको छ । लकडाउनका समयमा समेत निरन्तर निर्माण कार्य भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

 

हाल विमानस्थलमा डेकोरेसन र फिनिसिङको काम भइरहेको आयोजना प्रमुख मुनकर्मीले बताए । ‘काम एक दिन पनि रोकिएको छैन तर, गति लिन सकेको छैन, कर्मचारी र काम गर्ने समय थप्ने योजनामा छौँ,’ उनले भने ।

 

गत वर्ष चैत ११ गतेदेखि लक डाउन भए पनि निरन्तर निर्माण काम भइरहेको थियो । असार १ देखि लकडाउन केही खुकुलो भए पनि फेरी पुन लकडाउन सुरु हुँदा विदेशी कर्मचारीहरू ल्याउन नसकिएको र भनेकै समयमा पूरा गर्न अझै चुनौतीपूर्ण रहेको उनले बताए ।

 

समयमै काम सम्पन्न गर्नका लागि काम गर्ने समय समेत थप गरी २ देखि ३ सिफ्टमा काम गर्ने योजना रहेको उनले बताए । उनले ६ महिना अघि सकाउने योजना राखेकोमा अब तोकिएको समयमा काम पूरागर्ने गरी भइरहेको बताए ।

 

आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको, उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ ।

 

पछिल्लो समय सामान आयातमा समस्या नभएको उनले बताए । धेरै जसो निर्माण सामग्रीहरू स्टकमै राखिएकाले काममा कुनै रोकावट नआउने उनी बताउँछन् । हाल निर्माणका लागि नेपालकै ह्वासिङ सिमेन्ट प्रयोग गरिएको छ । चीनबाट इलेक्ट्रीक सामग्रीहरू ल्याइसकेको छ ।

 

हालसम्म भएका कामहरू

 

विमानस्थल अन्तर्गत हालसम्म टर्मिनल, एटिसी टावर, ह्यांगर निर्माण कार्य सम्पन्न भएको छ । टर्मिनलमा ग्लास, क्वाटीन वाल, आल्मुनीयम प्लेट, एसी प्वार डिस्ट्रिवीसन क्याविनेट लगायत स्टिल स्ट्रक्चर डेकोरेसन, फिनिसिङ, इलेक्ट्रि फिकेसन जडानका कामहरू हाल भइरहेको आयोजना प्रमुख मुनकर्मीले बताए ।

 

एक्सेस रोड, कार पार्क एरिया, टर्मिनल एरियामा सडकको सब वे तथा बेस कोर्षको काम सम्पन्न भएको छ । रिगिड पेभ्मेन्टको काम सुरु गरिएको छ । वाटर सिस्टमको पाइप बिछ्याउने काम सुचारु भइरहेको छ । टर्मिनल लगायत सबै भवनहरूमा केवलको काम भइरहेको छ ।

 

सम्पूर्ण निर्माण सामग्री आएपछि पूरै श्रमिक खटिए ५ महिना भित्र निर्माण सम्पन्न हुने उनको दाबी छ । लकडाउन नखुलाउँदा डरलाग्दो अवस्थामा काम गरिरहनु परेकाले सोचे जस्तो काम हुन नसकेको उनले बताए ।

 

आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको, उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ ।

 

गत आर्थिक वर्षमा ९६ प्रतिशत वित्तीय प्रगति भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सो आवमा ७ अर्ब २० करोड खर्च भएको थियो । कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको छ । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्वर महिनादेखि सुरु भएको हो ।

 

विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ । ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागी र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिँदै छ । पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् ।

सेयर कारोबारको समय थप, ५:१५ बजेसम्म बजार खुल्ने Read Previous

सेयर कारोबारको समय थप, ५:१५ बजेसम्म बजार खुल्ने

काठमाडौंमा ४२९ सहित एकैदिन अहिलेसम्मकै धेरै १२२१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु Read Next

काठमाडौंमा ४२९ सहित एकैदिन अहिलेसम्मकै धेरै १२२१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु