साल्ट ट्रेडिङले बल्ल ल्यायो युरीया मल, कृषि सामग्रीले कहिले ल्याउने अझै अत्तोपत्तो छैन

काठमाडौं । कृषिप्रधान देश भनिए पनि खेती लगाउने बेलामा कृषकले कहिल्यै समयमै मल पाउँदैनन् । मल आयातमा हनु ढिलाइले गर्दा कृषक सधैं मारमा पर्ने गरेका छन् ।

 

विगत वर्षमा झैं यस वर्ष पनि आवश्यकता अनुसार अझै मल आयात हुन सकेको छैन । मल ल्याउने ठेकेदारको लापारबाही र सरकारको वेवास्ताका कारण कृषकले खेती लगाउने बेलामा मल पाउन नसकेका हुन् ।

 

गत आर्थिक वर्ष २०७६/७७ का लागि ४ लाख ५० हजार मेट्रिकटन मल ल्याउने लक्ष्य रहे पनि हालसम्म करिब आधामात्रै मल आयात भएको छ । सो मध्ये कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयात गर्ने गरी जिम्मा दिइएको छ ।

 

मल ल्याउने ठेकेदारको लापारबाही र सरकारको वेवास्ताका कारण कृषकले वर्षेनि खेती लगाउने बेलामा मल पाउन सकेका छैनन् ।

 

कृषि सामग्री कम्पनीले गत आवमा २ लाख ७६ मेट्रिकटन मल आयात गरिसकेको छ । ५० हजार मेट्रिकटन यूरीया मल आयात गर्न बाँकी रहेको कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।

 

उनका अनुसार मल अझैसम्म कलकतत्ता समेत आइपुगेको छैन । उनले अबको १५ दिनमा आउने, नआउने थाहा हुने बताए ।
‘मल अझै कलकता पनि आइपुगेको छैन, कोरोनाका कारण रोकिएको हो, १५ दिन पछि थाहा हुन्छ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

कृषि सामग्री कम्पनीले चालू आवका लागि १ लाख १० हजार मेट्रिकटन यूरीया मल आयातका लागि टेन्डर भइसकेको छ । ९५ हजार मेट्रिकटन डीएपी मल आयातका लागि टेन्डर भएको छ भने १० हजार मेट्रिक टन पोटास मलका लागि पनि टेन्डर भइसकेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

 

साल्ट ट्रेडिङले ३२ हजार मेट्रिकटन मल आयात गरेको छ । जसमध्ये गत आवको २१ हजार मेट्रिकटन मल रहेको थियो । चालू आवको पहिलो चौमासिक अन्तर्गत ११ हजार मेट्रिकटन युरीया मल आयात गरिसकेको छ ।

 

चालू आवको पहिलो चौमासिक अन्तर्गत साल्ट ट्रेडिङले ३० हजार यूरीया मल आयात गर्नु पर्ने छ । जस मध्ये ११ हजार मेट्रिकटन मल आयात भइसकेको छ । थप १९ हजारका लागि टेन्डर आवहान गरेको छ । ४० हजार डीएपी मल आयात मध्ये २० हजारका लागि टेन्डर आवहान गरिएको छ । थप २० हजार मेट्रिकटन मल आयातका लागि टेन्डर आवहानको क्रममा रहेको छ । ५ अजार पोटास मल आयातका लागि टेन्डर आवहान भएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

 

साल्ट ट्रेडिङले पूर्वी क्षेत्रमा भदौ ८ गते सोमबारदेखि नै मल वितरण सुरु गरेको छ । मध्य क्षेत्रमा भदौ ११ गते बिहीबारदेखि वितरण सुरु गरेको छ । पश्चिम क्षेत्रमा भोलि (भदौ १३ ) शनिबारदेखि वितरण सुरु गरिने उनले बताए ।

 

‘हामीले गत आवको बाँकी मल वितरण सुरु गरिसक्यौं, अब चालू आवको मल ल्याउने तयारीमा छाँै, सबै टेन्डर प्रकृया अघि बढिसकेको छ,’ प्रवक्ता राजभण्डारीले चाणक्य पोष्टसँग भने । गत आर्थिक वर्षमा १० खर्ब ५२ करोड ९५ लाख रुपैयाँ मल आयातका लागि बजेट विनियोजन गरिएको थियो ।

 

लामो समयदेखि देशमा मलको अभाव सृजना हुन थालेको छ । विभिन्न बाहानामा प्रत्येक वर्ष मल अभाव हुने गरेको छ । किसानहरुले चाहिएको बेलामा मल पाउन सकिरहेका छैनन् ।कृषक समूह महासंघले बारम्बार मल समयमा ल्याउन, अनुदान बढाउन र सही ढंगमा वितरण गर्ने कुरामा सरकारको ध्यान आकर्षण गराउँदै आएको छ ।

 

कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत मल प्रयोग अन्दाज र पहुँचको भरमा वितरणको संस्कारलाई हटाउनु पर्ने बताएका छन् ।साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले आयात गर्ने मल सहकारी हुँदै किसानसम्म पुग्ने गरेको छ । यसरी लामो प्रकृया हुँदा किसानसम्म सही ढंगले मल पुग्न नसकेको उनी बताउँछन् । उनले बोडरबाट आउने मलको मूल्य र किसानले किन्ने मलको मूल्यमा फरक आउने गरेको बताए ।

 

सरकारले यूरीया मलमा ६५ देखि ७० प्रतिशत, डीएपी मलमा २५ देखि ३० प्रतिशत र पोटास मलमा ३० देखि ३२ प्रतिशत अनुदान दिएको छ ।सीमा क्षेत्रमा यूरीया मलको मूल्य प्रतिकेजी १४ रुपैयाँ, डिएपी ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ पर्ने गर्छ । बोडरमा मलको मूल्य यूरीया मल ७०० रुपैयाँ प्रति बोरा, डीएपी, २ हजार १५० र पोटास १ हजार ५५० रुपैयाँ प्रति बोरा पर्छ । प्रति बोरामा ५० केजी मल हुन्छ ।

 

सरकारी तथ्यांक अनुसार नेपाललाई वार्षिक ५ लाख ५७ हजार टन मल आवश्यक पर्छ । जसमा ३ लाख ३९ हजार टन यूरीया, १ लाख २९ हजार टन डीएपी र ९९ हजार टन पोटास मल आवश्यक हुन्छ ।

 

त्यो मल बोडरबाट किसानसम्म पुग्दा युरीया मल १ हजार १०० रुपैयाँ, डीएपी २ हजार ५०० र पोटास २ हजार २०० रुपैयाँसम्म पर्न जान्छ ।यसरी मलको मूल्यमा ४०० देखि ७०० रुपैयाँसम्म फरक पर्न जाने अध्यक्ष बस्नेतले बताए ।

 

चालू आर्थिक वर्षमा ५ लाख मेट्रिकटन मल आयात गर्ने लक्ष्य रहेको छ । त्यसका लागि ११ अर्ब बजेट विनियोजन गरिएको छ ।

 

कति  चाहिन्छ  मल ?

 

नेपालमा १५ लाख हेक्टर जमीनमा धान बाली हुन्छ । सरकारी तथ्यांक अनुसार ३ लाख ३९ हजार टन यूरीया, १ लाख २९ हजार टन डीएपी र ९९ हजार टन पोटास मल आवश्यक हुन्छ । जस अनुसार ५ लाख ५७ हजार  टन मल आवश्यक हुन्छ ।

 

सरकारको तथ्यांक अनुसार ६८ हजार हेक्टरमा उखु खेती हुन्छ । २ लाख ८६ हजार ८ सय ६४ हेक्टरमा व्यवसायीक तरकारी खेती हुन्छ । यो बाहेकमा कोदो, मकै, फापर, धान लगायतका खेती हुन्छन् । यो तथ्यांक हेर्ने हो भने ८ लाख मेट्रिकटन मल उखु र तरकारीकै लागि आवश्यक पर्ने देखिन्छ । यसरी नेपालमा ८ लाख मेट्रिकटन बढि मल आवश्यक पर्छ ।

 

नेपालमा कृषि जमिन घट्दै गइरहेको छ भने मल आयात वर्षेनी बढ्ने क्रममा रहेको छ । २०७०/७१ मा २ लाख ७३ हजार २३९ मेट्रिकटन मल ५ अर्ब ३० करोड लगानीमा ल्याइएको थियो ।

सगरमाथा इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यसरी हेर्नुस् लाइभ Read Previous

सगरमाथा इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यसरी हेर्नुस् लाइभ

आइएमई जनरल इन्स्योेरेन्सले दियो अभिकर्तालाई भर्चुअल प्रशिक्षण Read Next

आइएमई जनरल इन्स्योेरेन्सले दियो अभिकर्तालाई भर्चुअल प्रशिक्षण