काठमाडौं । मुक्तिनाथ विकास बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ । बैंकले ६१ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गर्दैछ ।
साउन १० गते सम्पन्न बैंक सञ्चालक समितिको २१४ औं बैठकले २०७६ साउन ३१ गते शुक्रबारको दिनलाई बुकक्लोज मिति तोकेको छ । यसअनुसार साउन ३० गते बिहीबारसम्म शेयरधनी कायम रहनेले मात्र हकप्रद भर्न पाउनेछन्।
बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ ।हाल बैंकको तीन अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पूँजी छ। चुक्ता पूँजीको २० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।
यसअघि ४० प्रतिशत हकप्रद बिक्री गरेको बैंकले गत वर्षको कमाईबाट १८.२५ प्रतिशत बोनस वितरण गरेको थियो। बैंकले बोनस पश्चात कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गर्न लागेको हो।
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड २० लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा कायम गरेको छ। बैंकको चौथो त्रैमासिक प्रतिवेदन भने हालसमम्म सार्वजनिक भएको छैन।