काठमाडौं । यो साता सेयर बजारले आफ्नो उकालो यात्रा जारी राखेको छ । आइतबारदेखि लगातार उकालो लागेको बजार ४ दिनमै करिब ६३ अंकले बढेको छ ।
पछिल्लो समय कोरोनाका कारण अधिकांश आर्थिक क्रियाकलाप ठप्पप्रायः हुँदा लगानीकर्ताले आफ्नो लगानी सेयर बजारमा लगानी गर्न थालेको अनुमान गरिएको छ । यसले गर्दा बजार सूचकसँगै कारोबार रकम पनि बढ्न थालेको आँकलन गर्न सकिन्छ ।
यस्तै पछिल्लो समय बैंकिङ प्रणालीमा भएको अधिक तरलता र घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा देखिन थालेको छ । बैंकहरुले पछिल्लो समय अन्य क्षेत्रमा कर्जा प्रवाह हुनै छाडेको बताएका छन् । र, सस्तो ब्याजदरका सेयर कर्जाका विभिन्न स्कीम ल्याइरहेका छन् । जसले गर्दा लगानीकर्ताले सहजै सस्तो ब्याजमा ऋण पाउने भएकाले सेयर बजारमा थप लगानी भित्रिँदा बजार चयालमान हुन थालेको जनाइएको छ ।
यस्तै पछिल्लो समय नेप्से र धितोपत्र बोर्डले अनलाइन प्रणालीबाटै कारोबार गर्न लगानीकर्तालाई प्रोत्साहित गर्दै नीतिगत तथा प्राविधिक रुपमा सहज बनाइदिएको छ । जसले गर्दा निषेधाज्ञाका बीच पनि लगानीकर्ताले अनलाइनबाटै कारोबार गर्न थालेकोले कारोबार बढ्न थालेको हो ।
आज सेयर बजार मापक सूचक नेप्से २१.१० अंकले बढेर १४६२.०४ बिन्दुमा पुगेको छ । यसदिन १८६ कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको छ । ५८ लाख ८२ हजार १०१ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा र व्यापार समूह बाहेक बाँकी १० वटै समूहको परिसूचक उकालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५१.६२ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक १७.९२ अंकले घटेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको आज सबैभन्दा धेरै ३४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेको र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज दुई कम्पनीको मूल्यमा सर्किट लागेको छ । आजैदेखि कारोबारमा आएको एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतले नाफा कमाएका छन् ।
आज समृद्धि फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।