काठमाडौं । सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ ।
साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (यूएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।
अहिले मल यूएईबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा क्वारेन्टिनमा राखिएको छ । सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो ।
उनका अनुसार मङ्गलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ । हिजोमात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो । वीरगञ्जबाट २ हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल आएको उनले बताए । उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने उनले जानकारी दिए ।
वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगर ट्रकमार्फत ५ हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । ‘एक दिन बिराएर अब भोलिदेखि एकपटकमा २ हजार ५०० मेट्रिकटन मल नियमति वीरगञ्ज आउनेछ,’ उनले भने, ‘विराटनगरबाट भने कोलकत्ताबाट ट्रकमा मल आउनेछ ।’
करिब १५ दिनमा नेपालमा ल्याउन थालेको मल सबै आइपुग्दछ । उनले मल आउन थालेपछि हप्ता दिनमा मल सबै किसानले सहज पाउने बताए । यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ ।
धान रोपाइ गरेपछि दुईपटक युरिया मल हाल्ने गरिन्छ । एकपटक धान रोपेको १ महिनापछि र अर्कोपटक बाला निस्कने बेलामा मल हाल्ने गरिन्छ । धान रोप्नेबेला भने पोटास र डीएपी मल हालिन्छ ।
नेपालमा मल आएसँगै करिब १० लाख कृषकले धानमा मल प्रयोग गर्न पाउनेछन् । कोलकात्ताबाट वीरगञ्जसम्म रेलमा आउने छ र त्यहाँ सुख्खा बन्दरगाहाबाट नेपालका विभिन्न साल्ट ट्रेडिङका डिपोमा पुर्याइनेछ ।
अहिले ल्याउन थालिएको मलले यो वर्ष रोपिएका सबै धानलाई पुग्ने मन्त्रालयका प्रवक्ता डा. केसीले बताए। ‘केही किसानले जेठ महिनामा वितरण गरिएको मल परी मौज्जाद राखेका छन् । पहाडका किसानले गोबर र कम्पोष्ट मल प्रयोग गर्दछन्,’ उनले भने, ‘त्यसैले अहिले ल्याउन थालिएको मल रोपिएका धानलाई प्रशस्त्र पुग्दछ ।’
कोभिड-१९ को ले गर्दा सबै मानिस आफ्नो घर गएकाले यस वर्ष सबैभन्दा धेरै ९८ प्रतिशत रोपाइँ भएको छ । यस वर्ष करिब मन्त्रालयका अनुसार १३ लाख ४७ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।
नेपालमा वर्षेनी सैद्धान्तिक हिसाबले डीएपी, पोटास र युरिया गरी करिब ८ लाख मेट्रिकटन मल आवश्यक रहेको छ । व्यावहारिकरुपमा साढे ५ लाख मल वर्षेनी चाहिने मन्त्रालयका प्रवक्ता डा. केसीले बताए ।
नेपालमा वर्षेनी २ देखि ३ लाख मेट्रिकटन मल आयात हुने गरेको छ । उनले हाइब्रिड खालका धान, मकै र आलुलाई मात्र रासायनिक मल आवश्यक हुने र अन्यका लागि यहीकै स्थानीय कम्पोष्ट र गोबर मल चाहिने बताए ।रासस