पर्यटन मन्त्रालयले वर्षदिनमा कति गर्‍यो काम, यस्तो छ प्रगति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको छ ।

 

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले कोभिड-१९ महामारीका बीच गत आर्थिक वर्षमा मन्त्रालयले सकारात्मक प्रगति हासिल गरेको बताएका हुन् ।

 

भर्चुअल बैठक मार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री भट्टराईले सबैभन्दा बढी पूँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए ।

 

‘कोभिड–१९ महामारीका कारण पुस/माघ महिनादेखि असार/साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमो यो वर्ष मन्त्रालयको पूँजीगत खर्च ६४ प्रतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालू खर्चमा ८० प्रतिशत प्रगति भएको छ ।’

 

यस्तै भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरिएको र योसँगै चार्टर्ड उडान क्रमशः कम हुने मन्त्री भट्टराईले बताए ।

 

नजिकिएको चाडवाडलाई मध्यनजर गर्दै मन्त्रालयले हिमाली र पहाडी क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा जुटेको मन्त्री भट्टराईले जानकारी दिएका छन् ।

 

मन्त्रालयको आव २०७५/०७६ मा कुल बजेट ३३ अर्ब १३ करोडा ३७ लाख रुपैयाँ रहेको थियो । आव २०७६/७७ मा २१ अर्ब २१ करोड ६९ लाख कुल बजेट रहेको छ । आव २०७५/७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६/७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

 

अन्तर्राष्ट्रिय विमानस्थलको बजेट खर्च हुन सकेन

 

वित्तीय व्यवस्थापनतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुक्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको हो । यसका साथै कोभिढ–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पार्यो, त्यसको प्रत्यक्ष असर मन्त्रालयको वार्षिक योजना कार्यक्रम कार्यान्वयनमा देखियो । परिणामस्वरुप मन्त्रालयले अपेक्षित नतिजा हासिल गर्नसकेन ।

 

राष्ट्रिय गौरवका आयोजनाको सन्तोषजनक प्रगति

 

तथापि, महामारीकैबीच पनि मन्त्रालयले कतिपय परियोजनामा उल्लेखनीय सफलता हात पारेको छ । मन्त्रालय मातहतका राष्ट्रिय गौरबको आयोजनाको उल्लेख्य प्रगति देखिएको छ । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधिन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगती भएको छ ।

 

यीमध्ये पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काममहामारीकाबीच निरन्तर भए । भैरहावा विमानस्थल सन्निकट सञ्चालनको तयारीमा छ । पर्यटनमन्त्री भट्टराईका अनुसार बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ । अबको तीन देखि ६ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आउनेछ । विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा बिलम्ब भएको जनाइएको छ ।

 

मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ संघीय संसदमा पेश भई छलफलको क्रममा रहेको छ । हवाई नीतिको मस्यौदा बनेको छ ।

 

सम्पदाको पुनःनिर्माणमा तीव्रता

 

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा सकारात्मक प्रगति छ । हालसम्म ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको छ । सुन्धारास्थित निर्माणाधिन २२ तले धरहराको काम तीव्र गतिमा भइरहेको छ । हालसम्म १३ तलाको ढलान भइसकेको छ ।

रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री भट्टराईले जानकारी दिएका छन । पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ । ग्रेट हिमालयन ट्रेटलको ७७ किलोमिटर निर्मिाण सकिएको छ । १२७ किलो मिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।

 

मन्त्रालयद्धार घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तब्यमध्ये १२२ को सतप्रतिशत र ७० गन्तव्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको छ ।

 

बहुप्रतिक्षीत निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको छ ।

 

निगमको सम्पत्ति ५४ अर्ब १७ करोड

 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को करुल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको छ । ४५ अर्ब ९४ करोड ऋण रहेको छ । निगमको खुद सम्पत्ति ८ अर्ब २३ करोड रहेको छ । याोबीचमा निगमले महत्वपूर्ण गन्तब्य जापानको नारितामा सीधा उडान शुरु गरेको छ । कोभिड–१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ ।

 

निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री भट्टराईले बताए । आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको उनले जानकारी दिए ।

नलगाडको मुआब्जा वितरण सम्पन्न, ९४५ परिवारलाई २ अर्बभन्दा बढी दिइयो Read Previous

नलगाडको मुआब्जा वितरण सम्पन्न, ९४५ परिवारलाई २ अर्बभन्दा बढी दिइयो

४ दिनमै ६३ अंकले बढ्यो सेयर बजार, बुलिस ट्रेन्डको संकेत गरेकै हो त ? Read Next

४ दिनमै ६३ अंकले बढ्यो सेयर बजार, बुलिस ट्रेन्डको संकेत गरेकै हो त ?