काठमाडौं । गैर आवासीय नेपालीहरुको लगानी रहेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै आजदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर किन्न लगानीकर्ताको ओइरो लागेको छ ।
३०६ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर ३३६ रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार खुलेको १५ मिनेटमै १ लाख९८ हजार कित्ता खरिदका लागि अर्डर गरेका छन् भने विक्रीमा १ कित्ता सेयर पनि छैन ।
यसले लगानीकर्ता कम्पनीको सेयर किन्न आकर्षित भएको देखाएको छ । कम्पनीको वित्तीय अवस्था खासै बलियो नभए पनि लगानीकर्ता भने सेयर किन्न मरिहत्ते गरेका छन् ।
कम्पनीले साउन १६ गतेदेखि ३३ लाख ९८ हजार ४६० कित्ता आइपीओ निष्काशन गरेको थियो ।
हाल कम्पनीको जारी चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.६ रुपैयाँ रहेको थियो भने प्रतिसेयर आम्दानी २.४ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।
कम्पनीले १४.३ मेगावटको माथिल्लो मैलुङ खोला हाइड्रोपावर, २८.१ मेगावाटको स्वीट गंगा हाइड्रोपावर, ७३ मेगावाटको मध्य तमोर हाइड्रोपावर, २७ मेगावाटको हिमालयन पावर पार्टनर लगायतका परियोजनामा लगानी गरेको छ ।