२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ निर्माण अन्तिम चरणमा

पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

 

२५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबेला केही टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताए। उनले भने, ‘कोरोना भाइरसले असर नपारेमा करिब आगामी असोजभित्र आयोजनाको निर्माण सक्ने आयोजनाको लक्ष्य छ ।’

 

विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

 

सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो । सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि आगामी असोजसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताए ।

 

आयोजनाको निर्माण अवधि थपिँदा लागत पनि ६७ करोड ६० लाख रुपैयाँ बढी लाग्ने अनुमान आयोजनाको रहेको छ । आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ ।

 

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत्गृहमा झारिने आयोजनाले जनाएको छ ।

 

यस आयोजनामा १२.५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदको समयमा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँ हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र पाँचवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजनाले यस आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ ।

 

यी सबै आयोजनाको निर्माणपश्चात वार्षिक करोडौँको बिजुली उत्पादन हुने भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । त्यस्तै जिल्लामा एक दर्जनभन्दा बढी आयोजना निर्माणाधीन छन् ।रासस

अब अनलाइनबाटै सेयर कारोबारका लागि युजरनेम र पासवर्ड लिन सकिने, यसरी गर्नुहोस् आवेदन Read Previous

अब अनलाइनबाटै सेयर कारोबारका लागि युजरनेम र पासवर्ड लिन सकिने, यसरी गर्नुहोस् आवेदन

एनआरएन इन्फ्रास्टक्चरको सेयर किन्न लगानीकर्ताको मरिहत्ते,  २ लाख कित्ता माग हुँदा १ कित्ता पनि बेच्ने छैनन् Read Next

एनआरएन इन्फ्रास्टक्चरको सेयर किन्न लगानीकर्ताको मरिहत्ते, २ लाख कित्ता माग हुँदा १ कित्ता पनि बेच्ने छैनन्