अब अनलाइनबाटै सेयर कारोबारका लागि युजरनेम र पासवर्ड लिन सकिने, यसरी गर्नुहोस् आवेदन

काठमाडौं । सेयर बजारमा अनलाइन कारोबार गर्नका लागि लगानीकर्ताले अब घरबाटै आफ्ना विवरणहरु भरेर पठाउन सक्ने भएका छन् ।

 

कोरोनाको कारण ब्रोकर कार्यालयसम्म पुग्न असहज बनेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्राहक पहिचान खाता (केवाईसी) र अनलाइन युजर खाताको फारम घरैमा बसेर भर्न सकिने सुविधा ल्याएको हो । साथै, अनलाइनमार्फत नै केवाइसी पनि अद्यावधिक गर्न सकिनेछ ।

 

यसका लागि नेप्सेले सबै ब्रोकर कम्पनीहरुको टीएमएस लिंकमा अनलाइन रजिष्ट्रेसन गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो सुविधा कार्यान्वयनमा आएसँगै आवश्यक युजरनेम र पासवर्ड लिन अब लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

 

नयाँ व्यवस्थाबाट अनलाइन प्रयोगकर्ता बढाउन सहयोग पुग्ने नेप्सेको भनाइ छ । कोरोना संक्रमण बढेका बेला भौतिक दूरी कायम गर्न समेत सहयोग पुग्नेछ ।

 

कसरी भर्ने अनलाइन फारम

 

ब्रोकरको टीएमएसको लिंकमा गएपछि ब्रोकर कम्पनीहरुको लिस्ट दिइएको छ । त्यसमध्ये एउटा ब्रोकर छानी त्यसमा क्लिक गरेपछि नयाँ पेज खुल्छ । त्यो पेजमा देखिएको रजिस्टर अप्सनमा क्लिक गरेपछि नयाँ फारम खुल्छ । मागे बमोजिम विवरण भरी सबमिट गर्नु पर्दछ ।

 

लगानीकर्ताले त्यो फारम भरेर सबमिट गरेपछि ब्रोकरले त्यसलाई हेरेर भेरिफाइ गर्नेछ । यसमा अनलाइनबाटै लगानीकर्ताले आफ्ना मागेका व्यक्तिगत विवरणका साथै, बैंक विवरण, प्रडक्ट विवरण, डीपी विवरण र डकुमेन्ट अप्सनहरुले मागेका काजगातहरु अपलोड गरेर फारम भरेपछि सबमिट गर्नुपर्छ ।

 

संसारको कुनै पनि स्थानमा बसेर अनलाइनमार्फत यो भर्न सकिने नेप्सेले बताएको छ ।यसबाट बढीभन्दा बढी प्रयोगकर्ताहरु अनलाइन कारोबारमा सहभागी हुन सक्ने विश्वास नेप्सेले लिएको छ ।

देशभर ४५ नयाँ सहर निर्माण अघि बढ्दै, निषेधाज्ञले काम प्रभावित Read Previous

देशभर ४५ नयाँ सहर निर्माण अघि बढ्दै, निषेधाज्ञले काम प्रभावित

२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ निर्माण अन्तिम चरणमा Read Next

२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ निर्माण अन्तिम चरणमा