काठमाडौं । पूर्ण सरकारी स्वामित्वको एक मात्र बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डको सदस्यमा नियुक्त भएर गएसँगै अध्यक्ष पद रिक्त रहेको थियो । अब अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई बैंकको अध्यक्षमा चयन गर्ने जनाइएको छ ।
कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी (छोराका ससुरा) हुन् । स्रोतका अनुसार उपप्रधानमन्त्री पोखरेलकै दबाबमा उनलाई बैंकको संचालकमा नियुक्त गरिएको हो ।
कोइराला यसअघि पनि पहुँचका भरमा पटक पटक सरकारी निकायका विभिन्न पदमा नियुक्त भइसकेका छन् । पोखरेल वाणिज्य तथा आपूर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।
त्यस्तै, उनी उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त, मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए । यद्यपि कोइरालाका कुनै पनि कार्यकाल भने विवादरहित हुन सकेका छैनन् ।