काठमाडौं । कोरोनाका कारण विदेशबाट सामान आयात घट्दा व्यापार घाटामा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा नेपालको व्यापार घाटा गत आवको तुलनामा २२ प्रतिशतले घटेकोे छ ।
चालू आर्थिक वर्षको साउन महिनामा ७६ अर्ब १८ करोड रुपैयाँ व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आवको सोही महिनामा नेपालको व्यापार घाटा ९७ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।गत आर्थिक वर्षको साउन महिनाको तुलनामा यो आवको साउनमा २२.१७ प्रतिशतले व्यापार घाटा घटेको हो ।
चालू आर्थिक वर्षको साउन महिनामा आयात गत आवको तुलनामा १९.६० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको आयात भएको थियो । चालू आवमा ८५ अर्ब ८० करोड रुपैयाँ बराबरका सामग्री आयात भएका छन् ।
यो आवको साउन अन्तिमसम्ममा गत आवको तुलनामा ८.८६ प्रतिशतले निर्यात वृद्धि भएको छ ।गत आवको सोही अवधिमा ८ अर्ब ८३ करेड ७० लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएका थिए । चालू आवको सो महिनामा ९ अर्ब ६२ करोड रुपैयाँ बराबरका सामग्री निर्यात भएका छन् ।
भन्सार विभागका तथ्यांक अधिकृत मोहन पुडासैनी निर्यात बढ्नुका कारण सामग्री कम तर, मूल्य ज्यादा हुनु रहेको बताउँछन् । उनले नेपालबाट कम मात्रामा सामग्री निर्यात भए पनि त्यसको मूल्य धेरै भएकाले निर्यात बढी देखिएको बताए ।
‘निर्यात वितगको तुलनामा कम नै भइरहेको छ तर, कम सामान धेरै मूल्यमा निर्यात भएकाले बढी देखिन गएको हो,’ पुडासैनीले भने ।