काठमाडौं । अब सेयर कारोबारको राफसाफ अनलाइन प्रणालीबाट मात्रै हुने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै धितोपत्र व्यवसायीले लगानीकर्ताबाट सेयर कारोबारको लेनदेन विद्युतीय माध्यमबाट गर्ने जनाएका हुन् ।
नेपाल धितोपत्र बोर्डले विद्युतीय माध्यमबाट रकम आदनप्रदान गर्दै बजारलाई अनलाइनमैत्री बनाउन निर्देशन दिएसँगै ब्रोकर व्यवसायीले अब सेयर कारोबारको रकम राफसाफ गर्दा चेक लेनदेन नगर्ने बताएका हुन् ।
साथै ब्रोकर व्यवसायीले लगानीकर्तालाई कनेक्ट आइपीएस तथा अन्य विद्युतीय भुक्तानी सेवाप्रदायकमा आबद्ध हुन आग्रह गरेका छन् ।
हाल चेकबाट ठूलो संख्यामा कारोबारको लेनदेन भइरहेको भन्दै ब्रोकर एशोसिएसनले अब उप्रान्त विद्युतीय माध्यमबाट मात्र लेनदेन गरिदिन लगानीकर्तालाई अनुरोध गरेको छ ।
लगानीकर्ताले सेयर विक्री गरेको रकम खातामा पठाइदिँदा कतिपय लगानीकर्ताको बैंक खाताको विवरण नमिलेर फिर्ता हुने गरेको भन्दै एशोसिएसनले बैंक खाताको विवरण अध्यावधिक गरी अनलाइनबाटै रकम लिन सक्ने व्यवस्था मिलाई दिन पनि लगानीकर्तालाई आग्रह गरेको छ ।
ब्रोकरलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानीहरु विद्युतीय माध्यमबाट मात्र गर्न गराउन पनि एशोसिएसनले आग्रह गरेको छ ।