काठमाडौं । गृहमन्त्रालयले बैंकका कर्मचारीहरुलाई बाटोमा नरोक्न निर्देशन दिएसँगै आजदेखि काठमाडौं उपत्यकामा बैंक खुल्ने भएका छन् ।
हिजो बैंक खोल्न हिँडेका कर्मचारीलाइ प्रहरीले बाटोमै रोकेपछि बैंकर संघले उपत्यकाका सबै बैंक बन्द गरेको थियो । बिहीबार गृहमन्त्रालयले उपत्याकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई नरोक्न पत्राचार गरेपछि आजदेखि बैंक खुल्ने भएका हुन् ।
‘स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई आधारभूत बैंकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको सूचना बमोजिम आधारभूत बैंकिङ सेवा सुचारु गर्न आवश्यक समन्वय तथा सहयोगका लागि अपिल गरिएको छ,’ गृहको पत्रमा भनिएको छ ।
सरकारले बैंकलाई अत्यावश्यक सेवामा राखेको छ । निषेधाज्ञामा पनि अत्यावश्यक सेवाका कर्मचारी तथा सवारीलाई नरोक्ने बताइए पनि हिजो प्रहरीले बैंकका कर्मचारीलाई बाटोमै रोकेको थियो ।
बैंकका कर्मचारीलाई सहज रुपमा आवतजावत गर्न दिएमा बैंक बन्द गर्नु पर्ने अवस्था नै नआउने र नियमित सेवा दिने नेपाल बैंकर्स संघले जनाएको छ ।
बैंकर संघका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा हरेक बैंकका एउटा मात्र शाखा खुल्ने छन् ।