काठमाडौं। नेपाल राष्ट्र बैंकले क्रिस्टल फाइनान्स लिमिटेडको लाइसेन्स खारेज गरेको छ।
२०५८ फागुन ८ गते लाइसेन्स लिएको फाइनान्सलाई राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ८० को उपदफा २ अनुसार खारेज गरेको हो ।
वित्तीय स्वास्थ्य बिग्रिएपछि २०६९ असोजमा समस्याग्रस्त घोषणा गरेको फाइनान्सको अवस्थामा सुधार नभएपछि राष्ट्र बैंकले संस्थाको इजाजत खारेज गर्ने निर्णय गरेको हो।
तत्कालीन अवस्थामा फाइनान्सको खराब कर्जा बढेको, निक्षेपभन्दा बढी ऋण लगानी गरेको र सो ऋण असुली हुन नसकेपछि समस्याग्रस्त घोषणा गरिएको थियो। कम्पनीको कुल ऋणमध्ये करिब १६ प्रतिशत उठ्न नसक्ने अवस्थामा पुगेको थियो।
समस्याग्रस्त हुँदा कम्पनीसँग ४९ करोड १३ लाख रुपैयाँ निक्षेप दायित्व थियो भने ८६ करोड ८० लाख रुपैयाँ ऋण उठाउनु पर्ने थियो। कम्पनीको चुक्ता पूँजी नौ करोड ४४ लाख रुपैयाँ थियो।
