काठमाडौं । कोरोना महामारीको नियन्त्रणको लागि भोलिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिए पनि सेयर बजार भने बन्द नहुने भएको छ । अघिल्लो पटकको लकडाउनको समयमा करिब ३ महिना बन्द भएको भए पनि यो पटक चाहिँ नेप्सेले सेयर बजार बन्द नगर्ने निर्णय लिएको हो ।
‘सेयर बजार सामान्य ढंगले नै खुल्छ । ब्रोकर कार्यालयका कर्मचारीहरुको लागि कार्यालय आउन समस्या हुन्छ की भन्ने छ तर फोटोसहितको परिचयपत्र देखाएर अत्यावश्यक सेवा भनेर कार्यालय आउन मिल्छ । हामीले संम्बन्धित निकायसँग पनि कुरा गरेका छौं,’ नेप्सेका सीईओ चन्द्रसिंह साउदले चाणक्य पोष्टसँग भने ।
यता, नेपाल धितोपत्र बोर्डले पनि सेयर बजार बन्द गर्ने कुनै योजना नभएको तर आधिकारीक निर्णय भने भइनसकेको र अबको केही समयमा बैठक बसेर आधिकारीक निर्णय गर्न लागेको जनाएको छ ।
‘हिजो जारी गरिएको सुचनामा पनि नियमित सेवाहरु बन्द गर्नु नपर्ने तर कर्मचारी भने न्यूनतम राखेर सञ्चालन गर्नुपर्ने भन्ने नै आएको छ । त्यसैको आधारमा सेयर बजार बन्द गर्ने कुनै योजना छैन । केही समयमा बैठक बसेर आधिकारीक निर्णय सार्वजनिक गर्नेछौं,’ धितोपत्र बोर्डकी सूचना अधिकारी दीपा दाहालले बताइन् ।
फेरि लामो समयसम्म लकडाउन भएर आफ्नो लगानी ‘फ्रिज’ भएर बस्ने पो होकी भनेर चिन्तित लगानीकर्ताहरुलाइ सरोकारवाला संस्थाहरुको यो निर्णयले केही राहत दिएको छ ।
‘कम्पनीहरुको गत वर्षको वित्तीय विवरण आइसकेका छन् । कसको अवस्था कस्तो भनेर आंकलन गर्न सकिहालिन्छ । त्यसैको आधारमा र लगानीकर्ताको विवेकको आधारमा बजार चल्ला । बजार घट्नु र बढ्नु महत्वपूर्ण कुरा होइन । मुख्य कुरा बजार बन्द हुनु भएन । यो विषय नेप्सेले संवोधन गर्ने बताएको छ जसलाई हामीले सकारात्मक ढंगले लिएका छौं,’ पुतलीसडकमा भेटिएका एक पूर्णकालीन लगानीकर्ताले भने ।
ब्रोकरहरु पनि सेयर बजारलाई यो निषेधाज्ञाको समयमा पनि खुल्ला राख्नु सकारात्मक भएको बताउँछन् । ‘बजार खोल्ने कुरा ठीक छ । हाम्रो मुख्य चुनौती भनेको कर्मचारीहरुलाई कार्यालय कसरी ल्याउने र लैजाने भन्ने नै हो । यसमा सम्बन्धित निकायले विशेष ध्यान दियो भने सजिलो हुन्थ्यो,’ सेयर ब्रोकर संघका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिले भने ।
बजार र ब्रोकर कार्यालय खुले पनि लगानीकर्तालाई भने ब्रोकर कार्यालयसम्म आउन संभव देखिँदैन । यसले टेलिफोनबाट वा अनलाइन करोबारको आइडी लिएकाले अनलाइनबाट आफैं कारोबार भने गर्न सक्छन् । कारोबार रकम भने अनलाइनबाटै गर्नुपर्ने देखिन्छ ।
अनलाइनबाटै पैसा लेनदेन गर्ने अवस्था नभएका लगानीकर्ताले पनि निषेधाज्ञा पछि मात्र गर्न सकिन्छ । ‘अघिल्लो लकडाउनको समयमा पैसाको धेरै कारोबार लकडाउन पछि नै ‘सेटल’ गरिएको थियो,’ ब्रोकर सिजापतिले भने ।