काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट निष्काशन हुने आइपीओमा सहभागी हुन इच्छुक संस्थागत लगानीकर्ताबाट आवेदन माग गरेको छ ।
बोर्डले एक सूचना जारी गर्दै बुक बिल्डिङ विधिबाट जारी गरिने आइपीओ खरिद प्रक्रियामा भाग लिनका लागि बुक बिल्डिङ निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका योग्य संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।
बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ताले बुक बिल्डिङ विधिमार्फत निष्कासित हुने आइपीओमा सहभागी हुन पाउने व्यवस्था भएकाले इच्छुक कम्पनीलाई आवेदन दिन आह्वान गरेको हो ।
बोर्डका अनुसार सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीले आवेदन दिन सक्नेछन् ।
