युवाको क्षमता अभिवृद्धिका लागि सातै प्रदेशमा नवप्रद्र्धन केन्द्र स्थापना गरिँदै
चाणक्य पोष्ट
प्रकाशित : 4:14 pm, शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । स्वदेशमा रोजगारी नपाएर युवा विदेशिनु परिरहेको स्थितिमा युवाको समग्र क्षमता अभिवृद्धिका लागि सातै प्रदेशमा नवप्रद्र्धन केन्द्र स्थापना शुरु भएको छ ।

 

कोभिड– १९ का कारण श्रमका लागि विदेश गएका युवाहरु स्वदेश फर्कन थालेका बेला सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा राष्ट्रिय युवा परिषद्बाट उक्त कार्य अघि बढेको हो ।

 

परिषद्ले हाल बागमती प्रदेशका लागि काभ्रेस्थित काठमाडौँ विश्वविद्यालय र नमोबुद्ध नगरपालिकाको सहकार्यमा काभ्रेमा र प्रदेश नं. १ का लागि प्रदेशको सामाजिक विकास मन्त्रालय, मोरङस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको सहकार्यमा केन्द्र स्थापनाका लागि जग्गा प्राप्ति र अन्य काम अघि बढाएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले अन्य प्रदेशमा केन्द्र स्थापनाका लागि पनि पहल भइरहेको जनाए ।

 

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नवप्रर्वतनकारी (इनोभेटिभ) युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारीबाट फर्केका अनुभव तथा सीपयुक्त उद्यमशील युवालाई उद्यम व्यवसाय शुरु गर्न शुरुवाती पूँजी उपलब्ध गराइने, उद्यम व्यावसाय, गर्न क्षमता विकास प्रविधि हस्तान्तरण वित्तीय पहुँच र बजारीकरणका कार्यक्रमसँग आवद्ध गर्न हाल सञ्चालित कार्यक्रमलाई पुनः संरचना गरी सबै प्रदेशमा विस्तार गरिन उल्लेछ ।

 

उक्त कार्यक्रममा शिक्षित बेरोजगार युवालाई प्रमाणपत्र र परियोजनाका आधारमा पूँची उपलब्ध गराइ उनीहरुको शिक्षासँग सम्बन्धित व्यावसाय सञ्चालन गर्न परियोजना निर्माणमा समेत सहयोग गरी उत्प्रेरित गर्ने उल्लेख छ ।

 

हाल नेपालमा ४०.३५ प्रतिशत (१ करोड ७ लाख) युवा छन् । रोजगारीका लागि दैनिक १ हजार ५०० युवा विदेश जाने गरेका छन् । विदेश जाने युवामध्ये वार्षिक करीब साढे ५ लाख युवा अर्धदक्ष छन् ।

 

बेरोजगारी १९.२ प्रतिशत र युवा साक्षरता दर ७१ प्रतिशत छ । युवा विकासमा नेपाल विश्वमा ७७ औँ, शिक्षामा १३० औँ, रोजगारीमा ६६ औँ, नागरिक सहभागितामा ४३ औँ र राजनीतिक स्थानमा १७९ औँ स्थानमा छ । नेपालको सङ्घीय संसद्मा १३ प्रतिशत युवा सहभागिता छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ ।

 

मुलुकमा राष्ट्रिय युवा नीति, २०७२ जारीपछि परिषद्को ऐन जारी भई कार्यान्वयनको निकायका रुपमा परिषद् गठन भएको हो । राजनीतिक सहभागिता र चेतनाका दृष्टिले युवाहरु अगाडि रहे पनि नीति निर्माणमा उनीहरुको सहभागिता कमजोर रहेको मानिन्छ ।