

केही दिन अगाडिको वर्षाले नेपालको तराई, मध्य पहाडी जिल्लाहरु र विशेषगरी काठमाडौं उपत्यका पूर्ण रुपले प्रभावित भएका थिए । र, त्यसको असर क्रमशः अझै देखा पर्ने सम्भावना रहन्छ । विगतमा नापिएका वर्षातका परिणाम भन्दा थोरै मात्र थपघट हुँदापनि यसले पूर्ण रुपमा प्राकृतिक जोखिम र प्रकोप निम्त्याएको छ । फलस्वरुप संरचना ध्वस्त, जनधनको क्षति र आम जनजीवन त्रासमय बनाएको छ । यस किसिमका अतिवृष्टि र प्रकोपको लागि प्रकृति मात्र दोषी नभई कृतिम वातावरण धेरै हदसम्म जिम्मेवार रहेको छ ।
विगतका वर्षमा हुने सहरी बाढी र यसपालिको बाढीले मानिसद्धारा निम्त्याईएका प्रकोप नै पूर्ण रुपमा यसको हकदार छन् भन्ने देखिएको छ । गएको दशकमा जनसंख्या अनपेक्षित वृद्धि, अव्यवस्थित सहरी विकास र प्राकृतिक प्रकोपलाई पूर्ण सावधानिक रुपमा नलिनु नै काठमाडौं उपत्यकाको बाढीको मुख्य कारण रहेको छ ।
बाढीको जोखिम र सम्भावना धेरै जसो जमिनको उपयोग परिवर्तनसँग गाँसिएको हुन्छ । काठमाडौंका जमिन बितेका केही वर्षहरुदेखि द्रुत गतिमा सहरीकरण भईरहेको छ । साधरण अर्थमा सहरीकरण भनेको खाली जमिनमा अलकत्रा तथा क्रंक्रिटका सडक बनाउने आवासीय भवन र अन्य पूर्वाधारहरुको क्षेत्रफल बढाउने कार्य हो । खाली जमिन हुँदा वर्षातको पानी सोझै खोलामा नगई केही मात्रा जमिनमा सोसिन्थ्यो वा जमिन बाटनै बग्दथ्यो । तर, सहरीकरण बढेपछि क्रंक्रिटाराइज हुने क्रमसँगै वर्षातको पानी सोझै खोलामा जान्छ ।
हो, यही कारण खोलाको सतह निश्चित रुपमा बढ्छ । बाढी प्रकोप र जोखिमहरु निम्तने गर्छन् ।

तथ्यांकलाई आधारमान्दा सन् १९६१ मा ३.७%ले रहेको ‘बिल्ट अप एरिया’ सन् २०१६ मा ३७ % पुगेको छ । र, यसको प्रत्यक्ष असर बाढी प्रकोप र जमिन मुनिको पानीको गुणस्तर र परिणाममा परेको देखिन्छ ।
सहरी निकासको गम्भिर रुपमा व्यवस्थापन नहुनु, पुराना संरचनालाई समायानुकुल मर्मत सम्भार नगरिनु, निकाससँग सम्बन्धित सहरी पूर्वाधारहरु धेरै पुरानो हुनु, कम प्रविधियुक्त हुनु, अतिवृष्टि र जलवायु पविर्तनसँग लचक नहुनु पनि अर्को कारक तत्व हो ।
अझ, काठमाडौं उपत्यकाको जैविक तथा अजैविक फोहोरहरु सोझै एउटै ढलमा प्रवेश पाउनुले पनि ढलको निकासमा अवरोध सृजना गर्दछ । हाम्रो ढल निकास प्रणाली आवासीय सिवेर लाइन र सार्वजनिक सिवेर लाईनको संयुक्त प्रणाली हो । जसले गर्दा वर्षातको समयमा ढल संरचनामा ठूलो दवाव पर्दछ र दवाव सहन नसक्दा संरचना ध्वस्त भई बाढी निम्त्याउँछ ।
मापदण्ड विपरीत खोलाको सम्भावित बाढीले प्रभाव पार्ने क्षेत्रहरु भित्र आवासीय तथा गैर आवासीय संरचनाहरु बनाई खोलालाई साँघुरो बनाउनु नै अहिलेको सहरी बाढीको मुख्य कारण हो । उपत्यकाका मुख्य नदिहरु बागमती, विष्णुमती, धोविखोला, मनोहरा तथा हनुमन्ते वरिपरिका सम्भावित बाढी जोखिम क्षेत्र भित्र अनियन्त्रीत र अव्यवस्थित रुपमा आवासीय भवन निर्माण गर्दै नदीलाई थप साँघुरो बनाउँदा थोरै परिमाणको वर्षामा पनि खोलाले आफ्नो बाटो लिन नसक्दा ठूलो बाढी निम्त्याएको देखिन्छ ।
काठमाडौंको अवस्था
विभिन्न अनुसन्धान अनुसार विशेषगरी भविष्यमा काठमाडौंको बर्षातकाे परिणाम १२% ले वृद्धि हुने प्रक्षेपण गरिएको छ । यसले अहिलेको भन्दा भयावह जोखिम निम्त्याउने सम्भावना रहन्छ । यसलाई न्यूनीकरण गर्न प्रशासनिक व्यवस्थापन, पूर्वाधार निर्माण र व्यवस्थापन जोखिम न्यूनीकरण नै समाधानका उपायहरु हुन् ।
यसबाहेक भईरहेको ढल निकास संरचनाको वृद्धि विकास, व्यवस्थापन र नयाँ प्रविधियुक्त ढल निकास निर्माण अत्यन्त जरुरी देखिन्छ । बाढी जोखिम क्षेत्रमा रहेका आवसीय र सार्वजनिक संरचना क्रमशः घटाउँदै तटीय पूर्वाधारको विशेष निर्माण गर्नुपर्ने ठूलो आवश्यकता देखिन्छ । व्यवस्थित सहरीकरण गर्दै पानी सोस्ने सतहहरु पनि क्रमशः विकास गर्दै लानुपर्ने अर्को आवश्यकता हो ।
पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन र यसलाई जोखिमसँग जुध्ने प्रविधियुक्त बनाउनु पनि भविष्यका उपायहरु हुन् । साथसाथै सरकारी अंगहरु, निजी क्षेत्र र विश्वविद्यालयले खासगरी सहरी निकास, बाढी र यससँग सम्बन्धित अनुसन्धानमा अझै जोड दिनुपर्ने आवश्यक देखिन्छ ।
(लेखकद्वय एसियन इन्चिच्यूट अफ टेक्नलोजी, थाईल्याण्डमा वाटर इन्जीनेरिङ एण्ड म्यानेजमेन्टमा अध्यनरत छन्)