वर्षामा किन डुब्यो काठमाडौं उपत्यका, बढ्दै छ हरेक वर्ष खतरा

लेखक न्याैपाने
लेखक थपलिया

केही दिन अगाडिको वर्षाले नेपालको तराई, मध्य पहाडी जिल्लाहरु र विशेषगरी काठमाडौं उपत्यका पूर्ण रुपले प्रभावित भएका थिए । र, त्यसको असर क्रमशः अझै देखा पर्ने सम्भावना रहन्छ । विगतमा नापिएका वर्षातका परिणाम भन्दा थोरै मात्र थपघट हुँदापनि यसले पूर्ण रुपमा प्राकृतिक जोखिम र प्रकोप निम्त्याएको छ । फलस्वरुप संरचना ध्वस्त, जनधनको क्षति र आम जनजीवन त्रासमय बनाएको छ । यस किसिमका अतिवृष्टि र प्रकोपको लागि प्रकृति मात्र दोषी नभई कृतिम वातावरण धेरै हदसम्म जिम्मेवार रहेको छ ।

 

विगतका वर्षमा हुने सहरी बाढी र यसपालिको बाढीले मानिसद्धारा निम्त्याईएका प्रकोप नै पूर्ण रुपमा यसको हकदार छन् भन्ने देखिएको छ । गएको दशकमा जनसंख्या अनपेक्षित वृद्धि, अव्यवस्थित सहरी विकास र प्राकृतिक प्रकोपलाई पूर्ण सावधानिक रुपमा नलिनु नै काठमाडौं उपत्यकाको बाढीको मुख्य कारण रहेको छ ।

 

बाढीको जोखिम र सम्भावना धेरै जसो जमिनको उपयोग परिवर्तनसँग गाँसिएको हुन्छ । काठमाडौंका जमिन बितेका केही वर्षहरुदेखि द्रुत गतिमा सहरीकरण भईरहेको छ । साधरण अर्थमा सहरीकरण भनेको खाली जमिनमा अलकत्रा तथा क्रंक्रिटका सडक बनाउने आवासीय भवन र अन्य पूर्वाधारहरुको क्षेत्रफल बढाउने कार्य हो । खाली जमिन हुँदा वर्षातको पानी सोझै खोलामा नगई केही मात्रा जमिनमा सोसिन्थ्यो वा जमिन बाटनै बग्दथ्यो । तर, सहरीकरण बढेपछि क्रंक्रिटाराइज हुने क्रमसँगै वर्षातको पानी सोझै खोलामा जान्छ ।

 

हो, यही कारण खोलाको सतह निश्चित रुपमा बढ्छ । बाढी प्रकोप र जोखिमहरु निम्तने गर्छन् ।

 

तथ्यांकलाई आधारमान्दा सन् १९६१ मा ३.७%ले रहेको ‘बिल्ट अप एरिया’ सन् २०१६ मा ३७ % पुगेको छ । र, यसको प्रत्यक्ष असर बाढी प्रकोप र जमिन मुनिको पानीको गुणस्तर र परिणाममा परेको देखिन्छ ।

 

सहरी निकासको गम्भिर रुपमा व्यवस्थापन नहुनु, पुराना संरचनालाई समायानुकुल मर्मत सम्भार नगरिनु, निकाससँग सम्बन्धित सहरी पूर्वाधारहरु धेरै पुरानो हुनु, कम प्रविधियुक्त हुनु, अतिवृष्टि र जलवायु पविर्तनसँग लचक नहुनु पनि अर्को कारक तत्व हो ।

 

अझ, काठमाडौं उपत्यकाको जैविक तथा अजैविक फोहोरहरु सोझै एउटै ढलमा प्रवेश पाउनुले पनि ढलको निकासमा अवरोध सृजना गर्दछ । हाम्रो ढल निकास प्रणाली आवासीय सिवेर लाइन र सार्वजनिक सिवेर लाईनको संयुक्त प्रणाली हो । जसले गर्दा वर्षातको समयमा ढल संरचनामा ठूलो दवाव पर्दछ र दवाव सहन नसक्दा संरचना ध्वस्त भई बाढी निम्त्याउँछ ।

 

मापदण्ड विपरीत खोलाको सम्भावित बाढीले प्रभाव पार्ने क्षेत्रहरु भित्र आवासीय तथा गैर आवासीय संरचनाहरु बनाई खोलालाई साँघुरो बनाउनु नै अहिलेको सहरी बाढीको मुख्य कारण हो । उपत्यकाका मुख्य नदिहरु बागमती, विष्णुमती, धोविखोला, मनोहरा तथा हनुमन्ते वरिपरिका सम्भावित बाढी जोखिम क्षेत्र भित्र अनियन्त्रीत र अव्यवस्थित रुपमा आवासीय भवन निर्माण गर्दै नदीलाई थप साँघुरो बनाउँदा थोरै परिमाणको वर्षामा पनि खोलाले आफ्नो बाटो लिन नसक्दा ठूलो बाढी निम्त्याएको देखिन्छ ।

 

काठमाडौंको अवस्था

विभिन्न अनुसन्धान अनुसार विशेषगरी भविष्यमा काठमाडौंको बर्षातकाे परिणाम १२% ले वृद्धि हुने प्रक्षेपण गरिएको छ । यसले अहिलेको भन्दा भयावह जोखिम निम्त्याउने सम्भावना रहन्छ । यसलाई न्यूनीकरण गर्न प्रशासनिक व्यवस्थापन, पूर्वाधार निर्माण र व्यवस्थापन जोखिम न्यूनीकरण नै समाधानका उपायहरु हुन् ।

 

यसबाहेक भईरहेको ढल निकास संरचनाको वृद्धि विकास, व्यवस्थापन र नयाँ प्रविधियुक्त ढल निकास निर्माण अत्यन्त जरुरी देखिन्छ । बाढी जोखिम क्षेत्रमा रहेका आवसीय र सार्वजनिक संरचना क्रमशः घटाउँदै तटीय पूर्वाधारको विशेष निर्माण गर्नुपर्ने ठूलो आवश्यकता देखिन्छ । व्यवस्थित सहरीकरण गर्दै पानी सोस्ने सतहहरु पनि क्रमशः विकास गर्दै लानुपर्ने अर्को आवश्यकता हो ।

 

पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन र यसलाई जोखिमसँग जुध्ने प्रविधियुक्त बनाउनु पनि भविष्यका उपायहरु हुन् । साथसाथै सरकारी अंगहरु, निजी क्षेत्र र विश्वविद्यालयले खासगरी सहरी निकास, बाढी र यससँग सम्बन्धित अनुसन्धानमा अझै जोड दिनुपर्ने आवश्यक देखिन्छ ।

 

(लेखकद्वय एसियन इन्चिच्यूट अफ टेक्नलोजी, थाईल्याण्डमा वाटर इन्जीनेरिङ एण्ड म्यानेजमेन्टमा अध्यनरत छन्)

नेपाली पाँच वाणिज्य बैंक ‘एशिया मनि अवार्ड’बाट पुरस्कृत Read Previous

नेपाली पाँच वाणिज्य बैंक ‘एशिया मनि अवार्ड’बाट पुरस्कृत

भारतले काम नगर्दा बन्दरगाह निर्माणको काम अलपत्र Read Next

भारतले काम नगर्दा बन्दरगाह निर्माणको काम अलपत्र