४ महिनापछि खुलेका सौराहाका होटल २ हप्तामै पुनः बन्द

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् ।

 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए ।

 

कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनको गुनासो छ । उनले भने, ‘हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च गर्यौँ, फेरि बन्द गर्नुपर्यो।’  रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उनको भनाइ छ ।

 

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताउँछन् । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा होटलमा ग्राहक नआउने उनको भनाइ छ ।

 

होटलसँगै रेष्टुराँ पनि बन्द हुन् थालेका छन् । किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुराँमा ग्राहक नआउने व्यवसायीको भनाइ छ । सौराहामा ११० होटल रहेका छन् । यसैगरी साना ठूला १०० हाराहारी रेष्टुराँ छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा ५ हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।रासस

२५ प्रतिशतले कर्जा विस्तार गरेको सिटिजन्स् बैंकको नाफा २४ प्रतिशत घट्यो Read Previous

२५ प्रतिशतले कर्जा विस्तार गरेको सिटिजन्स् बैंकको नाफा २४ प्रतिशत घट्यो

सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन Read Next

सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन