बुक बिल्डिङ विधि लागू, अब १०० रुपैयाँमा आइपीओ नपाइने, न्यूनतम ५० कित्ता पाउने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशनमा बुक बिल्डिङ प्रणाली लागू गरेको छ । बोर्डले ‘बुक बिल्डिङ निर्देशिका-२०७७’ जारी गर्दै यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

 

सार्वजनिक निष्काशनको मूल्य निर्धारण तथा धितोपत्र निष्काशनको मूल्य निर्धारणको प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन निर्देशिका कार्यान्वयनमा ल्याइएको बोर्डले जनाएको छ ।

 

निर्देशिका कार्यान्वयनमा आएसँगै अब यस प्रणाली अन्तर्गत साधरण सेयर निष्काशन गर्ने कम्पनीको आइपीओ १०० रुपैयाँमा नपाइने भएको छ । अब बोलकबोल विधिबाट आइपीओ जारी हुनेछ ।

 

बोर्डका अनुसार बुक बिल्डिङ प्रणाली अनिवार्य नभएर स्वेच्छिक हो । मापदण्ड पुगेका कम्पनीले चाहेमा यस विधि अनुसार सेयर जारी गर्न पाउने छन् ।

 

बुक बिल्डिङ प्रणालीबाट आइपीओ जारी गर्ने कम्पनीले प्रिमियम (अंकित मूल्यमा थप गरी)मा सेयर जारी गर्न पाउनेछन् । जसले हाल १०० रुपैयाँमा जारी भइरहेको आइपीओको मूल्य बढ्ने भएको छ ।

 

कसरी हुन्छ आइपीको मूल्य निर्धारण

 

बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने कम्पनीको सेयरको मूल्य बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ ।

 

यसका लागि सेयर निष्कासन गर्ने संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्यसमेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार पार्दछ ।

 

त्यसपछि न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

 

योग्य संस्थागत लगानीकर्ताले दिएको आशय अध्ययन गरी आधार मूल्य तोक्नु पर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी आइपीओमा सेयर मूल्य निर्धारण हुनेछ ।

 

यद्यपि सर्वसाधारण लगानीकर्तालाईभने कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्नेछ ।

 

के अब सबै कम्पनीको आइपीओमा बुक बिल्डिङ लागू हुन्छ ?

 

बोर्डका अनुसार बुक बिल्डिङ प्रणाली अनिवार्य नभएर स्वेच्छिक हो । मापदण्ड पुगेका कम्पनीले चाहेमा यस विधि अनुसार सेयर जारी गर्न पाउने छन् ।

 

निर्देशिका अनुसार लगातार ३ आर्थिक वर्षदेखि नाफामा सञ्चालन भएको, साधारणसभाबाट सो विधिबाट आइपीओ निष्कासन गर्न अनुमति पाएको, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर चुक्ता पूँजीको कम्तीमा १५० प्रतिशत रहेको र औसत वा त्यसभन्दा माथि रेटिङ पाएको कम्पनीले मात्र थप प्रिमियम जोडेर आइपीओ जारी गर्न पाउने छन् ।

 

निर्देशिकाले तोकेको मापदण्ड नपुगेका कम्पनीले भने हालको व्यवस्था अनुसार नै प्रतिकित्ता १०० रुपैयाँमै साधरण सेयर जारी गर्नुपर्ने हुन्छ ।

 

लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयर पाउने

 

बुक बिल्डिङ विधिबाट जारी भएका कम्पनीको आइपीओमा लगानी कर्ताले न्यूनतम ५० कित्ता सेयर पाउने भएका छन् । यसमा सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुनेछ ।

 

हाल जुनसुकै कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाइने र  न्यूनतम १० कित्ता नै सेयर पाउने व्यवस्था छ । तर बुक बिल्डिङ प्रणाली अनुसार आवेदकले न्यूनतम ५० कित्ताका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । जसले गर्दा अब सेयर पाउने लगानीकर्ताले न्यूनतम ५० कित्ता पाउने भएका छन् ।

 

सेयर बाँडफाँट गर्दा सबैभन्दा पहिला कटअप मूल्यभन्दा बढी मूल्यमा आवेदन गर्नेले पाउनेछन् । त्यसपछि कटअप मूल्यमा आवेदन दिएकाले पाउँछन् भने त्यो भन्दा कम मूल्यमा भरेका लगानीकर्ताले समानुपातिक तरिकाले सेयर पाउनेछन् ।

 

के हो बुक बिल्डिङ ?

 

बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो । यस विधिबाट आइपीओ जारी गर्दा बोलकबोल विधिबाट गरिन्छ ।

 

यस पद्धतिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले सार्वजनिक निष्कासनका बेला विभिन्न सम्भाव्य लगानीकर्ताबाट बोलपत्र आह्वान गर्छन् । लगानीकर्ताले निष्कासनकर्ता कम्पनीले निर्धारण गरेको मूल्य सीमाभित्र रही आफ्नो बोलपत्र पेस गर्छन् ।

 

लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको वित्तीय विवरण, साख, कार्यसम्पादन मूल्यांकन आदिका आधारमा धितोपत्रको मूल्य तय गरी बोलपत्र पेस गर्दछन् ।

 

अख्तियार प्राप्त संस्थाहरुले आइपीओ ल्याउने कम्पनीको सेयरमा कतिसम्म मूल्य कबुल्ने भनी विशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छन र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन माथिल्लो बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आइपीओको मूल्य निधारण हुन्छ ।

 

बुक बिल्डिङ सार्वजनिक निष्काशन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो जसमा सार्वजनिक निष्काशनमा आवेदन दिन आग्रह नगरी वित्तीय संस्थाहरु, कर्पोरेसन वा उच्च नेटवर्थ भएका व्यक्तिहरु मार्फत आवेदन स्वीकार गरिन्छ ।

नबिल बैंकको खुद नाफा ६७ करोड घट्यो, लाभांश क्षमता कति Read Previous

नबिल बैंकको खुद नाफा ६७ करोड घट्यो, लाभांश क्षमता कति

२५ प्रतिशतले कर्जा विस्तार गरेको सिटिजन्स् बैंकको नाफा २४ प्रतिशत घट्यो Read Next

२५ प्रतिशतले कर्जा विस्तार गरेको सिटिजन्स् बैंकको नाफा २४ प्रतिशत घट्यो