काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माण शुरु भएको झण्डै डेढ दशक बिते पनि आयोजनाको कामले पनि गति लिन सकेको छैन ।
आर्थिक वर्ष २०६४/६५ देखि निर्माण शुरु गरिएको आयोजनाको काम १३ वर्ष बित्दा समेत आधा पनि पूरा भएको छैन । आयोजनाको काम शुरु भएको दशकौं वर्षसम्म पनि समयमै पूरा नहुने रोगबाट यो पनि ग्रसित भएको छ ।
आयोजना निर्माण सम्पन्न गर्ने समय अब ३ वर्षमात्र बाँकी रहे पनि काम भने आधा पनि पूरा हुन सकेको छैन । कुल १ हजार ८७९ किलोमिटर लामो यस आयोजना हालसम्म ४८.९४ प्रतिशत भौतिक प्रगति भएको छ।
कुल १ हजार ८७९ किलोमिटर लम्बाई मध्ये ४५२ किलोमिटर आयोजनाबाट, ४६२ किलोमिटर अन्य निकायबाट गरी ९१४ किलोमिटर कालोपत्र भएको छ ।
निर्माणका क्रममा कुल १२९ पुल मध्ये हालसम्म ८४ वटा पुलको निर्माण पूरा भएको छ । १६८ किलोमिटर सडक र ९ वटा पुलको ठेक्का व्यवस्थापन भएको सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७६/७७ मा १०० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेकोमा जम्मा ४२ किलोमिटर सडक कालापोत्र भएकोे हो । त्यस्तै, ३५ किलोमिटर सडक ग्राभेल गरी १२ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ग्राभेल लक्ष्यभन्दा बढी हुन गए पनि सो खण्डमा गत आवमा २ वटा मात्र पुल निर्माण सम्पन्न भएको हो ।
हालसम्म ४६ अर्ब खर्च
सडक निर्माणका लागि १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । वित्तीयतर्फ हालसम्म ४६ अर्ब १४ करोड रुपैयाँ खर्च भइसकेको छ ।
गत आर्थिक वर्षमा सो सडक निर्माणका लागि ३ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये गत आवमा २ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षका लागि ८ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त सडक २०६४/६५ देखि सुरु भएको हो । २०७९/८० सम्ममा सडक निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । यो आयोजना अबको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्ने छ ।
गत वर्ष कोभिड १९ का कारण भौतिक निर्माण लक्ष्य अनुरुप हुन नसकेको सडक विभागका सूचना अधिकारी सुवाल बताउँछन् ।
‘कोभिडका कारण मजदूरहरु काम गर्न मानेन्न, त्यस कारण लक्ष्य अनुसार काम पनि हुन सकेन, वर्षायामले गर्दा अहिले कामले गति लिन सकेको छैन, भदौ लगत्तै कामले गति लिनेछ,’ सुवालले भने ।