खतिवडाको डोजरले भत्काइदिएको विद्युतीय सवारी गुड्ने ‘ट्रयाक’ सम्याउँदै व्यवसायी
चाणक्य पोष्ट
प्रकाशित : 4:56 pm, मंगलबार, साउन २७, २०७७

काठमाडौं । विद्युतीय गाडी र बाइक गुडाउनका लागि नेपालमा भर्खर ‘ट्रयाक’ खनिँदै थियो । केही व्यवसायीहरु उत्साहित भएर ट्रयाक खन्ने काममा जुटेका थिए । अन्य केही सरोकारवालाहरु चार्जिङ स्टेशन बनाएर त्यो खनिएको ट्रयाकमा कालोपत्र गर्न कस्सिएका थिए । आम उपभोक्ता भने त्यो चिल्लो कालोपत्र सडकमा बिजुली गाडी र बाइक हुँइक्याउन तम्तयार भएका बसेका थिए ।

 

तर, चालू आर्थिक वर्षको बजेटले बिजुली गाडीमा ह्वात्तै कर बढाएर त्यो बन्दै गरेको ट्रयाक डोजर चलाएर भत्काइदिएको छ । अब अर्को नीतिगत व्यवस्था नहुन्जेलसम्मका लागि नेपालका बिजुली गाडीका सम्पूर्ण संभावनाहरु समाप्त भएका छन् ।

 

सरकारले निर्मम ढंगले भत्काइदिएको त्यो ट्रयाकमा बाइक र स्कुटर गुडाएर बाटो सम्याउँदै गाडीका लागि पनि ट्रयाक तयार पार्नुपर्ने जिम्मेवारी पनि विद्युतीय सवारी सम्बद्ध व्यवसायीहरुको काँधमा आइपुगेको छ ।

 

बिजुली बाइक र स्कुटरमा पनि सरकारले सडक दस्तुर लगाएको छ । तर पनि गाडी जस्तै बाइक र स्कुटरको संभावना भने समाप्त भइसकेको छैन । संघर्ष भने कडा नै गर्नुपर्ने देखिन्छ ।

 

यसका अलावा सरकारले निर्मम ढंगले भत्काइदिएको त्यो ट्रयाकमा बाइक र स्कुटर गुडाएर बाटो सम्याउँदै गाडीका लागि पनि ट्रयाक तयार पार्नुपर्ने जिम्मेवारी पनि बिजुली बाइक र स्कुटर सम्बद्ध व्यवसायीहरुको काँधमा आइपुगेको छ ।

 

यही जिम्मेवारी बोधसँगै काठमाडौंको नक्सालमा गत शनिबार बिजुली बाइक र स्कुटरको नयाँ शोरुम खुलेको छ । ब्राण्डको नाम भने ‘जिनियस’ हो ।

 

यो चीनबाट आयात गरिएको बाइक हो । तर, यसलाइ नेपालको हावापानी सुहाउँदो गरी ‘कस्टुमाइज’ गरिएको र यो नामको ब्राण्ड नेपालमा मात्र विक्री हुने यसका सञ्चालक संजीव शिल्पकार बताउँछन् । जिनियस अन्र्तगत कम्पनीले एक्स वाइ ४६ र एक्स ४६ गरि दुई मोडलको बाइक कम्पनीले ल्याएको छ ।

 

‘हिल क्लाइम्बिङ, हिल असिस्ट र चेन्स स्पोर्केट पनि ठूलो साइजको राखेका छौं,’ सञ्चालक शिल्पकार बताउँछन् । यो ब्राण्डलाई योमा मा ई मोर्टस् प्रालिले आफ्नै ‘ब्राण्ड नेम’मा आयात गरेको हो ।

स्कुटरको सन्दर्भमा भने कम्पनीले टेल्जी ब्राण्डको स्कुटर आयात गरेको छ । यो ब्राण्ड चीनको चर्चित ब्राण्ड भएको कम्पनीको दाबी छ । यो स्कुटर ब्राण्डको संयुक्त राष्ट्र संघको पनि सहकार्य रहेको शिल्पकार बताउँछन् । यो स्कुटर लायन र टाइगर गरी दुई मोडलमा कम्पनीले आयात गरेको हो । फूल ब्याट्रि चार्जमा लायन ९५ र टाइगर ८५ किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दाबी छ ।

 

महामारीको अप्ठ्यारो परिस्थितिमा नयाँ बिजुली बाइक र स्कुटर लिएर बजारमा आएको यो नयाँ कम्पनीलाई अबका दिन त्यति सजिला छैनन् भन्ने थाहा छ । सरकारले पनि बिजुली बाइक र स्कुटरलाई दिएको केही सुविधा कटौती गरिसकेको अवस्था हो, सडक दस्तुर लगाएर ।

 

‘अवस्था सहज नभए पनि हामी काम गर्न सक्छौं भन्ने लाग्छ । सरकारले बिजुली गाडी र बाइकहरुमा कर बढाएको छ । गाडीलाई त अहिलेको अवस्था निकै कठिन नै छ । दुइपाङ्ग्रेमा भन्सार करहरु त बढाएको छैन तर सडक दस्तुर भने बढाइएको छ । यसका अलावा हालै बिल बुक नवीकरण शुल्क पनि १ सय रुपैयाँबाट बढाएर ३ हजार पुर्याइएको छ । यसले केही निराशा छाएको छ ।

 

तर, यसका बाबजूद हामी काम गर्न सक्छौं र अबको भविष्य बिजुली गाडी र बाइकहरुकै हो भन्नेमा हामी ढुक्क छौं । सरकारले पनि आफ्ना नितीहरु परिर्वतन गर्ला,’ सञ्चालक संजिव शिल्पकारले चाणक्य पोष्टसँग भने ।

वास्तवमा भन्ने हो भने सरकारले बजेट ल्याउनु अघि बिजुली सवारीहरुको माहोल नेपालमा तातिसकेको थियो । गाडीहरुले कोरेको फराकिलो ट्रयाकमा बिजुली बाइकहरु मजाले गुड्ने अवस्था आइसकेको थियो । तर, अहिले अवस्था उल्टो भइसकेको छ । अब बाइक र स्कुटरहरुले गाडीको लागि ट्रयाक बनाउनु पर्ने अवस्था आएको छ। तर पनि शोरुममा आउने ग्राहकहरु र सामाजिक सञ्जालमा आउने ‘इन्क्वारी’हरुले उनीहरुमा उत्साह भरेको छ ।

 

साथै, बिजुली बाइक र स्कुटर जसरी वातावरण मैत्री छन्, ग्राहकको पनि पकेट मैत्री छन् र जसरी यस्ता सवारीले नेपालको पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घटाउन सहयोग पुर्याउन सक्छन् त्यसकारणले पनि उनीहरु ढुक्क भएका हुन् ।

 

‘अहिलेको बिजुलीको मूल्यको आधारमा हाम्रो बाइक र स्कुटर प्रति किलोमिटर ४० पैसामा चढ्न सकिन्छ । विद्युत् प्रधिकरणले आफ्नै लगानीमा चार्जिङ स्टेशन बनाउन लागेका कारण यो अझै सस्तो पर्न जान्छ । काठमाडौं जस्तो प्रदूषित सहरमा बिजुली सवारीको प्रयोगको फाइदाको कुरै गर्नु परेन । अबको भविष्य भनेको विद्युतीय सवारीको नै हो,’ शिल्पकारले विश्वास व्यक्त गरे ।

 

योमा मा ई मोर्टसको नक्सालमा रहेको यो पहिलो शोरुम अभियन्ता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र विद्युत् प्राधिकारणका निर्देशक कुलमान घिसिङले गरेका थिए ।

Advertisement Section