काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एक–आपसमा मर्ज हुने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यी दुई संस्थाबीच मर्जरमा जानका लागि बिहीबार (साउन ९ गते) प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो । उक्त सहमतिपत्रमा सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले र उन्नति माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाहले हस्ताक्षर गरेका हुन् ।
रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । यस्तै, सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ । हाल उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ र सहकार्यको १ करोड ४० लाख रुपैयाँ रहेको छ ।
मर्जरमा जाने सहमति भएपनि यी दुवै लघुवित्तले यसअघि पारित गरेको हकप्रद सेयर भने जारी गर्ने भएका छन् । उन्नतिले १ः१ अनुपात र सहकार्यले १ः३ को अनुपातमा हकप्रद सेयर जारी गर्नेछन् ।
साथै, सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पुँजीमा गणना गर्ने सहमति भएको छ । दुई संस्थाबीच पुस महिनाभित्र एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।
मर्जर पश्चात् दवैै वित्तीय संस्थाको लघुवित्त बैंकिङ्ग प्रणाली, वित्तीय, मानवसंशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्घि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गर्ने जनाएका छन् ।