भारतीय अर्थतन्त्रमा सबैभन्दा ठूलो मन्दी आउन सक्ने, यस्ता छन् मनमोहन सिंहका ३ सुझाव

गहिरो र लामो आर्थिक मन्दीलाई अवश्यमभावी मान्दै भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले हालका प्रधानमन्त्री नरेन्द्र मोदी र उनले नेतृत्व गरेको सरकारले लिनै पर्ने ३ वटा तहगत कदमहरु बताएका छन् ।

 

बीबीसीसँगको इमेल संवादमा पूर्व प्रधानमन्त्री सिंहले मुलुकमा जारी आर्थिक मन्दीलाई मानवीय संकटको संज्ञा दिएका छन् । साथै उनले सरकारले एकैपटक हठात ढंगले गरेको लकडाउनले मानिसहरुलाई ठूलो पीडा दिएको पनि बताएका छन् । ‘सायद त्यो समयमा लकडाउनको विकल्प थिएन होला तर हठात गरिएको घोषणा असंवेदनशील कदम थियो,’ सिहंले भनेका छन् ।

 

साथै पूर्वप्रधानमन्त्रीले अर्थतन्त्रलाइ सामान्य अवस्थामा ल्याउनका लागि ३ वटा तहगत सुझाव पनि दिएका छन् । सिंहका अनुसार मानिसहरुको जिवीकालाई जोगाउने र उनीहरुको खर्चगर्ने क्षमता बढाउने काम सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । यसका लागि सरकारले प्रत्यक्ष नगद सहयोग गर्नुपर्ने उनको बुझाइ छ । व्यवसायहरुको लागि पनि पूँजी उपलब्ध गराउनका लागि सरकारले ‘क्रेडिट ग्यारेन्टी’ गर्नुपर्ने उनको सुझाव छ ।

 

जनतालाई प्रत्यक्ष नगद सहयोग गर्नका लागि सरकारले अत्याधिक ऋण लिनै पर्ने सिंहको भनाइ छ । यसले भारतको ऋण र कुल ग्राहस्थ उत्पादन बिचको अनुपात बढाउँछ । तर, जीवन बचाउन, जिवीका जोगाउन र अर्थतन्त्रलाई गति दिनका लागि यो जोखिम लिनैपर्ने उनको बुझाइ छ । ‘हामी ऋण लिन लजाउनुपर्ने कुरै छैन । तर, ऋण लिएको पैसा हामीले कसरी खर्च गर्छौं भन्नेमा भने हामी सचेत हुनुपर्छ,’ सिंह भन्छन् ।

 

सिंहले भारत अन्य देशहरुको सिको गर्दै आयातमा अंकुश लगाउँदै नियन्त्रणमुखी अर्थतन्त्र तर्फ अग्रसर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । ‘विगत ३ दशकयता भारतले लिएको अर्थिक नीतिले उच्च वर्गलाई मात्र नभएर समाजका सबैलाई धेरै आर्थिक लाभ प्राप्त भएको छ’, उनले भनेका छन् ।

 

अबको केही समय आर्थिक मन्दीमा भारत जाकिने पक्का रहेको उनले बताएका छन् । ‘डिप्रेशन नै त म भन्दिन । तर, लामो र गहिरो आर्थिक मन्दीको सामना हामीले गर्नैपर्छ,’ उनले बीबीसीसँगको संवादमा भनेका छन् ।

 

भारतको अर्थतन्त्र कोभिड अगाडि पनि संर्घषरत नै थियो । कुल ग्राहस्थ उत्पादन ४.२ प्रतिशत मात्र थियो, जुन विगत १ दशककै सबैभन्दा न्यून हो । प्राय सबै अर्थशास्त्रीहरुले भारतीय अर्थतन्त्रमा ‘नोमिनल’ रुपमै संकुचन आउने बताएकै छन् । ‘यदि यस्तो भएमा स्वतन्त्र भारतमा यो पहिलो पटक हुनेछ,’ सिंहले भनेका छन् ।

 

‘म प्रार्थना गर्छु कि अर्थशास्त्रीहरु गलत होउन,’ सिंह भन्छन् ।

 

भारतमा अहिले लामो लकडाउन पश्चात अर्थतन्त्र विस्तारै खुल्न थालेको छ । केन्द्रीय अर्थमन्त्री निर्मला सितारमणले महामारीले थिलथिलो पारेको अर्थतन्त्रलाई गति दिनको लागि २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा गरेकी छिन् ।

नेप्सेद्वारा एनआडीसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज Read Previous

नेप्सेद्वारा एनआडीसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज

काठमाडौंमा ४३ सहित थप ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १४० डिस्चार्ज Read Next

काठमाडौंमा ४३ सहित थप ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १४० डिस्चार्ज