काठमाडौं । स्टक डिलर सञ्चालनमा ल्याउने तयारीमा रहेको नागरिक लगानी कोषले खुद नाफा १७.३६ प्रतिशतले बढाएको छ ।
कोषले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ५४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको तुलनामा करिब ८ करोडले बढी हो कोषले अघिल्लो आवको सोही अवधिमा ४६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कोषले गत वर्ष कुल १ अर्ब १५ रुपैयाँ आम्दानी गरेको छ । अघिलो वर्षको सोही अवधिमा आम्दानी ८४ करोड ३२ लाख रुपैयाँ थियो ।
कोषले सेवा शुल्क तथा कमिशनबापत ८८ करोड १५ लाख, ब्याज आम्दानीबापत ८ करोड २५ लाख र लाभांशबाट ३ करोड ६० लाख आम्दानी गरेको छ ।
कोषले विभिन्न कम्पनीको सेयरमा मात्रै १० अर्ब ७८ करोड लगानी गरेको छ । अघिल्लो आवमा कोषको सेयरमा लगानी ६ अर्ब ९३ करोड थियो । समीक्षा अवधिसम्ममा कोषको बैंक मौज्दात १ अर्ब १५ करोडमा झरेको छ ।
कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। कोषको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४२ रुपैयाँ रेहेको कोषको प्रतिसेयर आम्दानी ९ रुपैयाँले घटेर ३३ रुपैयाँमा आइपुगेको छ ।