इसुवाखोला हाइड्रोपावरले पीडितलाई दियो थप ९ करोड

सङ्खुवासभाको मकालु गाउँपालिका–१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले आयोजना पीडितलाई ९ करोड थप गरेको छ ।

 

हाइड्रोपावर कम्पनीले कीर्ते कागज बनाएर करोडौं रकम अनियमितता गरेपछि स्थानीयवासी आन्दोलित भएका थिए । हाइड्रोपावरले कीर्ते कागज बनाएर ठगी गरेकोमा स्थानीयवासीले आपत्ति जनाएका थिए ।

 

मकालु गाउँपालिका–१ मा निर्माण गरिरहेको केविएनआर इसुवा हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई प्रतिरोपनी ३ लाखका दरले थप गर्ने भएको वडाध्यक्ष वाङ्दीछिरिङ शेर्पाले जानकारी दिए।

 

आयोजनाको नाम बेचेर जग्गाको अधिकतम प्रतिरोपनी २ लाख मुआब्जा दिएर आठदेखि १० लाख मूल्य निर्धारण गरेको भेटिएपछि स्थानीयवासीले विरोध जनाएका थिए । आयोजनाले स्थानीयवासीलाई पाखोबारीको प्रतिरोपनी १ लाख ५० हजार र बारीको प्रतिरोपनी २ लाख मुआब्जा दिएको थियो ।

 

इसुवा हाइड्रोपावर कम्पनी, स्थानीयवासी र मकालु–१ का वडाध्यक्ष शेर्पासहित बसेको बैठकले प्रतिरोपनी ३ लाख रकम थप गर्ने सहमति भएको हो । गत पुस १३ गते भएको सहमतिबाट प्रतिरोपनी ३ लाख थप गर्ने सहमति भएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

 

कम्पनीले स्थानीयवासीका जग्गा प्रतिआना १ लाखमा खरिद गरेको तर नक्कली कागजात बनाएर ३७ लाखसम्ममा खरिद गरेको देखाएर कम्पनीका नाममा करोडौंको मूल्याङ्कन गरेको प्रमाण भेटिएको थियो ।

 

प्रतिरोपनी थप गरेको ३ लाखबाहेक बैठकले परियोजनाका लागि सडक निर्माण गर्दा प्रयोग हुने अन्य जग्गाबापत प्रतिरोपनी १ लाख थप गर्ने र यसअघि खरिद गरेको जग्गाको रकममा कट्टा गरेको पाँच प्रतिशत रकमसमेत फिर्ता गर्ने सहमति भएको पीडित कुसाङदोर्ची शेर्पाले बताए।

 

आयोजनाले पीडितलाई बैक खातामार्फत रकम भुक्तानी दिइने सहमतिमा उल्लेख छ । हाइड्रोपावर आयोजनाले करीब २५२ रोपनी जग्गा खरिद गरेको थियो । मकालु–१ मा ९७।२ मेघावाट क्षमताको विद्युत् उत्पादन गर्न इसुवाखोला हाइड्रोपावर केभिएनआर विराटनगर र बिगवल्र्ड हाइड्रोपावरले निर्माण गरिरहेका छन् ।रासस

क्लासिक टेकमा १६६ जनालाई रोजगारीको अवसर Read Previous

क्लासिक टेकमा १६६ जनालाई रोजगारीको अवसर

निर्माण कम्पनीले नबुझाउँदै विश्वकै लामो झोलुङे पुलमा समस्या Read Next

निर्माण कम्पनीले नबुझाउँदै विश्वकै लामो झोलुङे पुलमा समस्या