बेझाड । दूध उत्पादन गर्ने कृषकलाई व्यवसायमा हौसला बढाउन र व्यावसायिकीकरण गर्न डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले निःशुल्क दूध ढुवानी सेवा प्रदान गर्दै आइरहेको छ ।
तिनाउ गाउँपालिकाको डुम्रेमा सञ्चालन भएको यस सहकारीले कृषकको घरदैलोमै पुगेर आफ्नै खर्चमा दूध ढुवानी गरी बजारमा बिक्री गर्ने गरेको छ । निःशुल्क दूध ढुवानी सेवा दिन थालेपछि पशुपालन गर्ने कृषकको आकर्षण बढ्दो छ ।
सहकारीले घरदैलोमै आएर ढुवानी शुल्क नलिई दूध खरिद गरेको देखेपछि माथागढी गाउँपालिका–२ बस्ने पुरुषोत्तम कुमालले गाई पाल्न थाले । घरायसी खेतीपाती गरेर बस्ने कुमाल छ वर्षदेखि गाईपालनमा लागेका हुन् ।
“दूध बिक्रीका लागी बोकेर बजार जानु नपर्ने, घरदैलोमै सहकारीले गाडी लिएर आउँछ, ढुवानी खर्च पनि लाग्दैन”, उनले भने। सात वटा गाई पालेका कुमालले दैनिक २५ लिटर दूध घरबाटै बिक्री गर्न पाउँदा व्यवसायमा हौसला बढेको बताउँछन् ।
दूध बिक्रीका लागि आफैँले लिएर बजार जानुपर्दा धेरै समय खर्च मात्र नभई मासिक ढुवानी खर्चकै लागि १०÷१२ हजार रकम खर्चनुपथ्र्यो । अहिले यो रकम बचत गर्न पाइएको कुमालको भनाइ छ ।
कृषकको घरदैलोमा दूध ढुवानी गर्न दैनिक चार वटा गाडीको व्यवस्था गरिएको छ । प्रदेश सरकारको रु १० लाख अनुदानमा सहकारीले रु ११ लाख ६० हजार रकम थप गरेर पिकअप बोलेरो जीप खरिद गरेको छ भने तीन वटा गाडी भाडामा सञ्चालन गर्दै आइरहेको बजार व्यवस्थापक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार दैनिक दूध ढुवानीका लागि १३ सङ्कलन केन्द्रमा एक/एक जना कर्मचारी खटाइएको छ । डुम्रे क्षेत्रमा तीन, तिनाउ गाउँपालिका–३ को झुम्सामा एक, रिब्दिकोट गाउँपालिका–६ को ठिमुरेमा दुई, ४ को भैरवस्थानमा एक, माथागढी गाउँपालिका–२ को दध्रामा एक, ३ कसेनीको सराईमा एक, तानसेन नगरपालिका–८ स्थित मदनपोखरामा दुई, ९ को बन्दिपोखराथोकमा एक, रिब्दिकोटको सोमरमा एक गरी १३ वटा सङ्कलन केन्द्रबाट कृषकको दूध खरिद गरी सहकारीले बजारसम्म पुर्याउने गरेको छ ।
जिल्लामै कृषकबाट धेरै दूध खरिद गरी बिक्री गर्ने उक्त सहकारीमा दैनिक तीन हजार पाँच सय लिटर दूध सङ्कलन हुने गरेको छ । यहाँ सङ्कलित दूधमध्ये एक हजार आठ सय लिटर दूध पोखरामा बिक्रीका लागि पठाइन्छ ।
सहकारीमा आबद्ध रहेकामध्ये ४१ वटा ठूला दुग्ध उत्पादक फार्म आधिकारिकरूपमा दर्ता भई सञ्चालनमा छन् । कृषकले बढीमा ६५ वटासम्म दुधालु पशुपालन गरेर आम्दानीको स्रोत जुटाउँदै आइरहेका छन् । सहकारीले १७ जना कर्मचारी परिचालन गरेको छ ।
गुणस्तर हेरी गाईको प्रतिलिटर ४५ देखि ५५ सम्म र भैँसीको ६० देखि ६५ सम्म कृषकबाट दूध खरिद गर्ने गरेको सहकारीले जनाएको छ । कृषकबाट खरिद गरेको गाईको दूध रु ७० र भैँसीको रु ८० सम्ममा बजारमा बिक्री गरिने सहकारीका व्यवस्थापक गोपाल जिसी बताउँछन् ।
सहकारीले घरमै पालेको गाईबाट जन्मेको बाच्छी हुर्काएर पहिलो पटक सुत्केरी हुने गाईलाई सुत्केरी खर्चस्वरुप रु पाँच हजार प्रदान गरेको छ । सहकारीमा फार्म दर्ता गर्ने कृषकलाई प्रोत्साहनस्वरुप रु तीन हजार, कृषकले बीमा गरेको रकमको ५० प्रतिशत सहकारीले बेहोर्ने गरेको छ ।
यस्तै सहकारीले कृत्रिम गर्भाधान सेवाका एक जना पशु स्वास्थ्य प्राविधिक परिचालन, खोरेत रोगविरुद्धको निःशुल्क भ्याक्सिङ सेवा दिँदै आएको छ । सहकारीमा शेयर सदस्य सङ्ख्या २४८ छ भने पाँच सय दूध उत्पादक कृषक छन् ।
दैनिक ५० लिटरभन्दा बढी दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर दुई रुपैयाँ रकम उपलब्ध गराउँदै आएको छ । वि.सं. २०५१ मा स्थापना भएको सहकारीले नाफामुखी नभई कृषकमुखी कार्यक्रम गरिरहेको छ ।रासस