काठमाडौं । नेपाल सरकारले चीनसँग नयाँ हवाई सम्झौता गरेको छ । चीनको राजधानी बेइजिङमा बिहीबार र शुक्रबार दुई दिनसम्म भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो ।
सम्झौता अनुसार अब नेपाल र चीन सरकारबीच हप्तामा ९८ वटा उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सातामा ७० वटा उडान गर्दै आएका थिए । थपिएको २८ वटा उडान निर्मानाधीन पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर गरिने सम्झौता भएको हो ।
नयाँ सम्झौतामा नेपाली जहाजको लागि थप ८ नयाँ गन्तव्य थप्दै १५ गन्तव्यमा उडान भर्न पाउने व्यवस्था गरिएको छ । यसअघि नेपालबाट ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने प्रावधान थियो । नेपालले चीनको बेइजिङ, साङ्घाई, ग्वान्झाओ, ल्हासा, छेन्दु, कुन्मीङ र सियानमा उडान गर्न पाउने छ। बाँकी ८ नाम भने पछि नेपालले आँफै रोज्ने सहमती भएको छ ।
नेपाल एयरलाइन्सले ग्वान्झाओ र हिमालयनले बेइजिङ उडान गर्ने
बैठकमा दुई देशबीच नेपाल एयरलाइन्सलाई चीनको ग्वान्झाओ सहरमा उडानको अनुमति दिइएको छ। यससँगै नेपाल एयरलायन्सले अब ग्वान्झाओ उडान गर्न पाउनेछ ।
यस्तै हिमालयन एयरलाइन्सलाई बेइजिङको लागि उडान अनुमति दिइएको छ। चीनले बेइजिङमा सन् २०१९ भित्र निर्माण सम्पन्न गर्ने गरी नयाँ विमानस्थल बनाइरहेको छ। सोही विमानस्थल निर्माण कार्य सम्पन्न भएपछि हिमालयन एयरलाइन्सले बेइजिङ उडान सुरु गर्न सक्ने जनाइएको छ।