जापानी भाषा प्रशिक्षकलाई जापानमै लगेर तालिम दिइने, पहिलो चरणमा ४० जना लैजाने

काठमाडौं । नेपालका जापानी भाषा प्रशिक्षकहरुलाई सरकारले तालिमको लागि जापान लैजाने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले आवेदन खुला गरेको छ ।

 

नेपालबाट कामदार आपूर्तिको तयारी गरिरहेको जापानले नेपालका भाषा प्रशिक्षण दिने संस्थाका प्रशिक्षकहरुलाई भाषाका आधारभूत पक्षहरुबारे प्रशिक्षण दिन लागेको हो । उनीहरुले तालिम लिएर फर्किएपछि नेपालमा भाषासँगै कामको प्रकृतिअनुसार भाषा परीक्षाका मापदण्डहरुबारे प्रशिक्षण चलाउनेछन् ।

 

जापान फाउन्डेसनले सञ्चालन गर्ने भाषा तालिमको लागि जापानले नेपालमा प्रोमेट्रिक नामक संस्थालाई भाषा परीक्षा सञ्चालन गर्ने अनुमति दिइसकेको छ ।

 

जापानले भाषा प्रशिक्षणको लागि पहिलो चरणमा नेपालसहित फिलिपिन्स, म्यान्मार,कम्बोडिया र मंगोलियाबाट ४०/४० जना भाषा प्रशक्षिकलाई लैजाने भएको छ । जापानले ३ सिजनमा भाषा प्रशक्षिकलाई तालिम दिने भएको छ । यसमध्ये २ वटा चरणको प्रशिक्षणमा नेपाली भाषा प्रशिक्षकहरु सहभागी हुन पाउनेछन् ।

 

भाषा र सिप परीक्षा कात्तिकमा हुने

 

श्रम मन्त्रालयका अनुसार जापानले नेपालबाट पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर) मा कामदार लैजाने भएको छ । जसको लागि आवश्यक भाषा र सिप परीक्षा कात्तिकमा सञ्चालन हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार भाषा र सिप परीक्षामा उत्तिर्ण भएका व्यक्ति कामदारका रुपमा जापान जान पाउनेछन् ।

 

नेपाली कामदारका लागि जापानिज भाषको परीक्षा कात्तिक ११ र १२ मा हुने भएको छ । भाषा परीक्षाणमा उत्तिर्ण हुनेहरुको सिप परीक्षण कात्तिक २१ र २२ गते हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

 

सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा श्रम सम्झौता गरेको थियो । जापान सरकारसँग भएको सम्झौताअुनसार जापानले नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालनलगायत विभिन्न १४ वटा औद्योगिक क्षेत्रमा कामदार लैजाने छ । जसअनुसार नेपालबाट पहिलो चरणमा केयर गिभरका रुपमा नेपाली कामदार लैजाने भएको हो ।

 

भाषा र सिप परीक्षाको मिति तय भएपनि आवेदनको प्रकृया, लागत तथा अन्य संयन्त्रको विषयमा भने छलफल भइरहेको मन्त्रालयले जनाएको छ । यसको लागि नेपाल सरकारको तर्फबाट सहसचिवको नेतृत्वमा समिति बताएको छ ।

 

देशमा कामदार संकट गहिरिएपछि जापान सरकारले दक्षिण एसियाका नेपालसहित चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट विदेशी कामदार लैजाने योजना बनाएको छ ।

 

सोही अनुसार अहिलेसम्म नेपालसहित ५ देशसँग श्रम सम्झौता गरिसकेको छ । पहिलो चरणमा सम्झौता भएका मध्ये तीन देशबाट कामदार मात्रै लैजाने जनाएको छ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदार जापान लैजाने छ ।

 

जापानी भाषा प्रशिक्षकलाई जापान लैजाने सम्बन्धी विस्तृत विवरण यहाँ हेर्नुहोस् :

 

 

सतुवाको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण Read Previous

सतुवाको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण

नेपाल–चीन नयाँ हवाई सम्झौता, गन्तव्य र उडान संख्या थपिए Read Next

नेपाल–चीन नयाँ हवाई सम्झौता, गन्तव्य र उडान संख्या थपिए