काठमाडौं । बीमा समितिले परिवारको सामूहिक कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याएको छ ।
चालू आवको बजेटमा व्यवस्था भए अनुसार नागरिकको सामूहिक कोरोना बीमा गर्दा अनुदान दिने व्यवस्था अनुसार यो कार्यक्रम कार्यन्वयनमा ल्याइएको समितिले जनाएको छ ।
यो व्यवस्था लागू भएसँगै अब नागरिकले कारोना बीमा गर्दा सरकारबाट ५० प्रतिशत अनुदान पाउने भएका छन् ।
समितिले गत वैशाखदेखि १ लाख र ५० हजार रुपैयाँका गरी दुई प्रकारको बीमालेख जारी गरेको थियो । १ लाख बीमाङ्क कायम भएको बीमालेखका लागि प्रतिव्यक्ति १ हजार र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति ५०० बीमा शुल्क कायम गरिएको छ ।
परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा १ लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति ६०० र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति ३०० बीमा शुल्क लाग्ने छ ।
अब परिवारको सामूहिक बीमा गर्दा १ लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति ३०० र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति १५० सरकारबाट अनुदान उपलब्ध हुने छ । यस्तो बीमालेखको अवधि २०७८ असार मसान्त सम्म मात्र हुने छ ।
यस्तै, सरकारी कर्मचारीको भने निःशुल्क कोरोना बीमा हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
कस्ता व्यक्तिले गर्न सक्छन् बीमा
बीमालेख खरिद गर्न नेपाली नागरिक हुनुपर्ने, भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको भएमा १५ दिन अनिवार्य क्वारेन्टाइनमा बसेको र थप १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने छ ।
त्यस्तै सामूहिक कोरोना बीमाका लागि एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।
अनुदान प्राप्त गर्न समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड, २०७७ मा तोकिएबमोजिमका जोखिमाङ्कन व्यवस्थासम्बन्धी कागजात, एकाघर परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको स्वघोषणा एवं सम्बन्धित स्थानीय तहले प्रमाणीत गरेको कागजात, एकाघर परिवारका सदस्यहरुको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणीत गरेको कागजात, विगत ३० दिनसम्म नेपालमा नै बसोबास गरेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने छ ।
कसरी पाइन्छ भुक्तानी
कोरोना बीमालेख खरिद गरेको १५ दिनपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण भएको पाइएमा बीमालेखबमोजिमको रकम भुक्तानी हुने बीमा समितिले जनाएको छ । त्यसको लागि बीमालेख दाबी गरेको ७ दिनभित्र बीमितलाई दाबी भुक्तानी हुने व्यवस्था पनि समितिले गरेको छ ।
दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ । बीमकले सामूहिक बीमा गर्दा उल्लेखित प्रक्रिया र मापदण्ड विपरीत गरेको पाइए बीमाशुल्क अनुदान स्वरुप उपलब्ध नहुने पनि समितिले स्पष्ट पारेको छ । तर त्यस्तो बीमितको कोरोना सङ्क्रमण भएको पाइएमा बीमालेख विक्री गर्ने बीमा कम्पनीको वासलातबाट दाबी भुक्तानी दिन सम्बन्धित बीमकलाई समितिले निर्देशन दिन सक्नेछ ।