काठमाडौं । आर्थिक वर्ष ०७६/७७ मा देशभरका कुल ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण ग्रामीण क्षेत्रमा समेत विद्युत् पुगेको हो ।
सो आवमा कुल १४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । योसँगै नेपालको कुल जलविद्युत् जडित क्षमता १ हजार ३९९ मेगावाट पुगेको छ ।
सरकारले कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीसहित केही ठूला आयोजनाको निर्माण गत आवमै सक्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन ।
गत आवमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २६० किलोवाट घण्टा पुगेको छ । यस्तै सो वर्ष थप ३ लाख ३४ हजार घरधुरीमा विद्युत् पहुँच विस्तार भएको छ । योसँगै नेपालमा विद्युत् पहुँच प्राप्त घरधुरी सङ्ख्या ५० लाख १० हजार पुगेको छ । मन्त्रालयले थप २८५ सर्किट किलोमिटर नयाँ प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ ।
थपिएको सहित प्रसारण लाइनको लम्बाइ देशभर कुल ४ हजार २५१ सर्किट किलोमिटर पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य तथा वायु ऊर्जा थप भई कुल ८६६ किलोवाट पुगेको छ । यस्तै वर्षभरिमा थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायोग्यासको सङ्ख्या ४१९ पुगेको छ ।
राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पहुँच प्राप्त जनसङ्ख्यामा तीन प्रतिशतको वृद्धि भई ९० प्रतिशत पुगेको छ । यस्तै, विद्युत् वितरणका लागि २९० वटा नयाँ सब-स्टेसन निर्माण भएका छन् । विद्युत् चुहावटमा पनि उल्लेख्य प्रगति भएको छ । गत आवमा विद्युत् चुहावट १५.२७ प्रतिशतमा सीमित भएको छ । देशभरका १६ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ ।