घर किन्न नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजमै ऋण दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर हुने गरी ५ वर्षे अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ ।

 

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गर्नाका साथै अन्य बैंकमा रहेको घरकर्जासमेत ‘स्वाप’ गर्ने सुविधा दिने भएको छ । नेपाल बैंक नेपालको पहिलो बैंकसमेत हो ।

 

बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्घ व्यवसाय कर्जा र घडेरी कर्जा योजनासमेत शुरु गरेको छ । लघु उद्यम कर्जा तथा समृद्घ व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ । सो ब्याजदर पनि त्यस प्रकृतिका कर्जामा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर भएको बैंकले जनाएको छ ।

 

त्यस्ता कर्जा प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय हुनुपर्नेछ ।

 

त्यस्ता व्यवसाय सञ्चालन तथा विस्तारका लागि २५ लाखदेखि ९९ लाख रुपैयाँसम्मको लघु उद्यम कर्जा र १ करोडदेखि ३ करोडसम्मको चालू तथा स्थिर पूँजी व्यवस्थापनका लागि कर्जा उपलब्ध गराइनेछ ।

 

दुवै प्रकारका कर्जाअन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा अन्य सामान खरिद गर्न स्थिर पूँजीकर्जा र चालू सम्पत्ति व्यवस्थापनको लागि चालू पूँजीकर्जा प्रदान गरिने बैंकले जनाएको छ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे सात कार्य दिनभित्र निर्णय गरी प्रदान गरिनेछ ।

 

यस्तै, घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा योजना ल्याएको छ । उक्त कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न सक्नेछन् ।

 

उक्त कर्जा योजनाअन्तर्गत खरिद गरिने घडेरी कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ देखि २० वर्षसम्म कायम गरिएको छ ।

 

बैंकले हाल देशभरका १८६ शाखा, १२५ एटीएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । बैंकले चालू आवमा सबै जिल्लामा शाखा सञ्जाल पुर्याई कुल शाखा सङ्ख्या २१४ पुर्याउने लक्ष्य राखेको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुपका होटलमा १० प्रतिशत छुट पाउने Read Previous

माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुपका होटलमा १० प्रतिशत छुट पाउने

अब २५ शय्यासम्मका अस्पतालको अनुमति महानगरपालिकाबाटै Read Next

अब २५ शय्यासम्मका अस्पतालको अनुमति महानगरपालिकाबाटै