लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।

 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टलाई बोर्डको प्रमुखमा नियुक्त गरेको हो ।

 

बोर्डको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । बोर्डमा यसअघि राधेश पन्त र महाप्रसाद अधिकारीले प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यसम्पादन गरिसकेका छन् ।

 

तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि गत चैतदेखि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो ।

 

आगामी चार वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्टलाई नियुक्त गरिएको हो । अर्थमन्त्री डा युवराज खतिवडा संयोजकत्वको समितिले प्रमुख कार्यकारी अधिकृतका लागि भट्टसहित रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

 

बोर्डले वैदेशिक लगानीका ठूला आयोजनाको संयोजन गर्दै आएको छ । बोर्डले संयोजन गरेको कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना हाल निर्माणको क्रममा रहेको छ ।

 

यस्तै, नेपाली साझेदारसहितको चिनियाँ कम्पनी होङसीले सिमेन्ट उत्पादन गरिरहेको छ । यस्तै चिनियाँ लगानीकै ह्वासिन सिमेन्ट उद्योग समेत हाल निर्माणाधीन अवस्थामा रहेको छ ।

 

बोर्डले ६ अर्ब बढी लगानीका आयोजना संयोजन गर्ने नीतिगत व्यवस्था रहेको छ । यस्तै कुल २०० मेगावाट माथिका जलविद्युत् आयोजना समेत बोर्डले नै व्यवस्थापन गर्दै आएको छ ।

 

सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, २०७५ ले बोर्डलाई थप शक्तिशाली बनाएको छ । सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको सन्दर्भमा वैदेशिक लगानी भित्र्याउनका लागि बोर्डको भूमिका थप बढेर गएको छ ।

एसिड किन्नेको विस्तृत विवरण राख्न संसदीय समितिको निर्देशन Read Previous

एसिड किन्नेको विस्तृत विवरण राख्न संसदीय समितिको निर्देशन

मेलम्चीको सुरुङको गेट निर्माणमा गम्भीर त्रुटी, सच्याउनै ३ महिना लाग्ने Read Next

मेलम्चीको सुरुङको गेट निर्माणमा गम्भीर त्रुटी, सच्याउनै ३ महिना लाग्ने