पूर्व-पश्चिम रेलमार्गको काम धमाधम, बर्दिबास खण्डमा ३३ किमी ट्रयाक निर्माण, पूर्वीखण्डको ठेक्का आह्वान

काठमाडौं । पूर्व-पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास-निजगड खण्डमा ३३ किलोमिटर ट्रयाक बेल्ट निर्माण सम्पन्न भएको छ । सोखण्ड अन्तर्गत ७० किलोमिटर रेलमार्ग बन्नेमा हालसम्म ३३ किलोमिटर मात्र काम सम्पन्न भएको हो । बाँकी खण्डमा काम भइरहेको विभागले जनाएको छ ।

 

सो खण्डमा २२५ मिटर लामो कालिन्जोर पुल निर्माण सम्पन्न भएको छ । अन्य बाँके, मरहा, सुनी, बार्बे, लखदेमा पुलको जग उठाउने काम पूरा भएको छ । सोही खण्ड अन्तर्गत पर्ने फुलजोर पुलको कार्य अन्तिम चरणमा रहेको विभागका सूचना अधिकारी अमन चित्रकारले बताए ।

 

उनका अनुसार बर्दिबास–निजगड खण्डमा अन्य थप १५ वटा पुलको ठेक्काको काम अघि बढेको छ ।  यस्तै चालू आवसँगै इनरवादेखि काँकडभिट्ट खण्डमा १०६ किलोमिटर लामो ट्रयाक बेल्ट निर्माणका लागि टेन्डर आह्वान भएको छ । यस अन्तर्गत ८० वटाका हाराहारीमा पुलहरु निर्माण हुने उनले बताए ।

 

९४५ किलोमिटरको पूर्व-पश्चिम रेलमार्गलाई ९ खण्डमा विभाजन गरिएको छ । जसमा ४ खण्ड पश्चिम र ३ खण्ड पूर्वमा पर्छ । यसमा थपिने सहायक रेलमार्गहरुलाई जोड्दा १ हजार ३७६ किलोमिटर हुने अनुमान छ । यो रेलमार्ग निर्माणका लागि १० खर्ब लाग्ने जनाइएको छ ।

 

‘काम भइरहेको छ, केही काम कोभिडका कारण कर्मचारी नहुँदा रोकिएको थियो, अब विस्तारै निरन्तरतामा आउन थालेको छ,’ चित्रकारले चाणक्य पोष्टसँग भने ।

 

गत आव २०७६/७७ मा ७ अर्ब २३ करोड बजेट विनियोजन गरिएको थियो । सो अवधिमा जग्गा अधिग्रहण सहित ५ अर्ब ६२ करोड रुपैयाँ खर्ब भएको उनले बताए । चालू आर्थिक वर्षमा रेलमार्ग निर्माणका लागि ८ अर्ब बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा रेलमागएका लागि साढे ४ अर्बको हाराहारीमा बजेट विनियोजन गरिएको थियो ।

 

पूर्वपश्चिममा रेल मार्ग निर्माणका लागि कुल बजेट १० खर्ब आवश्यक पर्ने अनुमान गरिएको छ । सन् २००८ बाट नै पूर्वपश्चिम रेलमार्गको अवधारणा बनाएर काम सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले गति लिन सकेको छैन । गत आर्थिक वर्षमा समेत कोभिड १९ का कारण धेरै कामहरु अलपत्र परेका छन् ।

 

९४५ किलोमिटरको पूर्व-पश्चिम रेलमार्गलाई ९ खण्डमा विभाजन गरिएको छ । जसमा ४ खण्ड पश्चिम र ३ खण्ड पूर्वमा पर्छ । यसमा थपिने सहायक रेलमार्गहरुलाई जोड्दा १ हजार ३७६ किलोमिटर हुने अनुमान छ ।

 

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार पूर्वपश्चिम विद्युतीय रेलमार्ग पूर्वमा झापाको काँकडभिट्टामा ‘टर्मिनल स्टेसन’ निर्माण गरिने छ । काँकडभिट्टाबाट छुटेको रेल बिर्तामोड आइपुग्दा त्यहाँ ‘प्यासेन्जर स्टेसन’ रहने गरी डीपीआर तयार गरिएको छ ।

 

बिर्तामोडबाट छुटेको रेल कन्काई नगरपालिकाको सुरुङ्गामा आइपुग्ने छ । सुरुङ्गामा यात्रु ओर्लिन र चढ्न सक्नेछन् । त्यहाँबाट पश्चिम लागेपछि रेल यासोका पुग्छ, त्यहाँ ‘सिग्नल स्टेसन’ मात्रै रहने गरी डीपीआर बनेको छ ।

 

दमकमा यात्रुले चढ्ने र झर्ने सुविधा पाउने छन् । त्यहाँबाट पश्चिम मोरङको उर्लाबारीमा रेल आइपुग्छ । उर्लाबारीमा पनि यात्रुले रेल चढ्न र ओर्लन पाउने छन् । उर्लाबारीबाट छुटेको रेल चण्डीटोल हुँदै माथिल्लो बलेपुर आइपुग्छ । माथिल्लो बलेपुरमा प्यासेन्जर स्टेसन रहने छ । माथिल्लो बलेपुरपछि पश्चिम इटहरी बजारमा अर्को प्यासेन्जर स्टेसन रहने छ ।

 

इटहरीको स्टेसनमा भारतबाट आउने रेललाई समेत जोड्न सकिने डीपीआरमा उल्लेख छ । इटहरी स्टेसनपछि रेल पश्चिमतर्फ सुनसरीको इनरुवास्थित प्यासेन्जर स्टेसनमा आइपुग्ने छ ।

 

डीपीआरअनुसार धनुषाको हरिहरपुर र धनपुरी हुँदै रेल सप्तरी जिल्लाको दिमान आइपुग्छ । त्यसपछि सप्तरीको राजविराज, मोहनपुर, बनरझुला हुँदै रेलमार्ग सिराहाको लहान पुग्नेछ । लहानमा प्यासेन्जर स्टेसन हुने हुँदा यात्रुले त्यहाँबाट रेल चढ्ने र झर्ने सुविधा पाउने छन् ।

 

लहानबाट रेल पश्चिमतर्फ लागेर पूर्वपश्चिम राजमार्गको छेउछाउबाट धनगढी, असनपुर हुँदै मिर्चैया बजार पुग्ने छ । मिर्चैया बजारबाट कल्यानपुर, यजनभूमि, हुँदै महोत्तरीको बर्दिबास आइपुग्ने गरी डीपीआर तयार भएको रेल विभागले जनाएको छ ।

 

बर्दिबासको प्यासेन्जर स्टेसनपछि रेल बेलगाछी, बारान्तोल, जबडी हुँदै बाराको धुर्कौली पुग्ने छ । धुर्कोलीमा प्यासेन्जर स्टेसन रहने र त्यसपछि रेल कर्मैया हुँदै चन्द्रनिगाहपुर पुग्छ । चन्द्रनिगाहपुरमा ‘मेन स्टेसन’ रहने जनाइएको छ ।

 

डीपीआर अनुसार चन्द्रनिगाहपुरको चोचादेखि नवलपरासीको तम्सरियासम्म छुट्टै खण्ड तोकिएको छ । यो खण्डमा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले पुनः डीपीआर तयार गर्नुपर्ने भएको रेल विभागले जनाएको छ । पुरानो डीपीआर अनुसार चोचादेखि तम्सरिया खण्डमा पर्सोना, मनहरुवा, भवानीपुर र सिमरा समेटिएका थिए । नयाँ डीपीआर अनुसार पूर्वपश्चिम रेलमार्ग नारायणगढ बजारतर्फको भागबाट रेल गुड्ने छ ।

 

नवलपरासी खण्डको तम्सरिया, कुसुण्डे, दुम्कीबास, बेलानी, उर्दिया, टिकापुर, सुनवलबाट रेलमार्ग रुपन्देहीको सितलनगरसम्म पुग्ने छ । नवलपरासीमा ७ वटा ‘प्यासेन्जर स्टेसन’ रहने डीपीआरमा उल्लेख छ ।

 

बुटवलबाट पश्चिमतर्फ कपिलवस्तु हुँदै रेलमार्ग दाङको लमही पुग्ने छ । लमहीबाट चौलाही, सतबरिया, रामनगर, हर्दवा, छापारगौरी, गबर, अगैया, मथेवास, मध्यपुरी र रंगीतालमा स्टेसन हुँदै कोहलपुरसम्म रेलमार्ग बनाउने गरी डीपीआर तयार भएको छ ।

 

कोहलपुरबाट बर्दिया जिल्लाको विभिन्न भाग हुँदै रेलमार्ग कैलालीको पहलवानपुर पुग्नेछ । कैलालीको पहलवानपुर, लंगडी, अत्तरिया, ओखलफाँटा र महेन्द्रनगरमा रेलको यात्रु स्टेसन बन्नेछन् । महेन्द्रनगरपछि रेलमार्ग कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा पुग्ने जनाइएको छ ।

देशका १५ जिल्ला पूर्ण विद्युतीकरण Read Previous

देशका १५ जिल्ला पूर्ण विद्युतीकरण

सेयर बजारमा सुधार, १ अर्ब २९ करोडको कारोबार, ३ कम्पनीको मूल्यमा सर्किट Read Next

सेयर बजारमा सुधार, १ अर्ब २९ करोडको कारोबार, ३ कम्पनीको मूल्यमा सर्किट