काठमाडौं । सामान्य विवादका कारण रोकिएको भक्तपुरकै महत्वपूर्ण योजनाका रुपमा रहेको हनुमन्ते करिडोर निर्माण कार्य सञ्चालन गरिने भएको छ ।
हनुमन्ते जग्गा एकीकरण आयोजना व्यवस्थापन उपसमितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको अध्यक्षतामा भएको छलफलले करिडोर र आयोजना दुवै एकैपटक अगाडि बढाउने निर्णय भएको हो ।
विगत केही समय अघिदेखि जग्गाको सामान्य विवादका कारण निर्माण रोकिएको करिडोर निर्माणले अब तत्काल अघि बढ्ने भएको सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले बताए ।
करिडोर निर्माणका क्रममा आएका समस्यालाई समाधान गर्दै निर्माण कार्यलाई अघि बढाउने निर्णय भएको उन्ले जानकारी दिए। बैठकमा हनुमन्ते जग्गा एकीकरण आयोजना क्षेत्रमा उपभोक्ता (सहयोग) समिति गठन गर्ने, आयोजना क्षेत्रको डीपीआरका लागि पुनःसूचना जारी गर्ने, हनुमन्ते नदीको करिडोर र जग्गा एकीकरण आयोजनाको कार्य सँगसँगै गर्ने र आयोजना प्रमुखको छनोटका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
सांसद बस्नेतको विशेष पहलमा २ अर्ब रुपैयाँ बजेट विनियोजन भई शुरु भएको हनुमन्ते करिडोर निर्माण सम्पन्न भएसँगै भक्तपुरको विकासमा नयाँ आयाम थपिने र भक्तपुर कोटेश्वरको जामसमेत हट्ने विश्वास लिएको छ । करिडोरले वर्षायामसँगै प्रत्येक वर्ष हुने भक्तपुरको डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुने, अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा करिडोर प्रयोगमा आउने भएको छ ।