काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले ब्याजदर घटाएर कर्जा लगानी गर्न थालेका छन् ।
कोरोनका कारण कर्जाको माग कम हुँदा पैसा बैंकमै थुप्रिएपछि बैंकहरुले सस्तो ब्याजमा कर्जा लगानी गर्न थालेका हुन् । बैंकमै पैसा थुप्रिँदै गएपछि बैंकहरुले सस्तो ब्याजका विभिन्न कर्जा योजना ल्याउन थालेका छन् ।
अहिले बैंकहरुमा २ खर्बभन्दा धेरै तरलता छ । लगानीयोग्य रकम पर्याप्त हुँदा पनि ऋणको माग कम भएपछि बैंकहरुले सस्तो ब्याजका स्किम ल्याएर ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धा गर्न थालेका हुन् ।
अहिले बैंकहरुले स्किमसहित घर कर्जा, अटो कर्जा, साना तथा मझौला व्यवसाय कर्जा (एसएमई), सेयर कर्जा लगायत सस्तो ब्याजका कर्जा योजना ल्याएका छन् ।
यसैबीच पछिल्लो समय क्रमशः उकालो लाग्दै गरेको सेयर बजारलाई लक्षित गर्दै बैंकहरुले धमाधम सस्तो ब्याजमा सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) योजना ल्याइरहेका छन् ।
उद्योग व्यवसाय क्षेत्रमा तत्कालै लगानी विस्तार भइनहाल्ने अवस्थामा बैंकहरुले सेयर बजारलाई कर्जा लगानीको क्षेत्रमा रुपमा लिन थालेका छन् । सामान्य अवस्थामा कम कर्जा लगानीका लागि प्राथमिकतामा पर्ने सेयर बजारलाई अहिलेको अधिक तरलताको अवस्थामा भने बैंकहरुले लगानीको क्षेत्रको रुपमा लिन थालेको देखिन्छ ।
अधिक तरलता र बैंकको ब्याज समेत सस्तो भएको अवस्थामा लगानीकर्ताले सेयर बजारमा लगानी गर्नसक्ने सम्भावनालाई मध्येनजर गर्दै बैंकहरुले एकल अंकको ब्याजदरमा समेत कर्जा दिन थालेका छन् । सामान्य अवस्थामा १५ प्रतिशत ब्याजदरमा समेत कर्जालगानी गरिरहेका बैंकहरुले अहिले एकल अंकको ब्याजदरमै सेयर धितो कर्जा दिन थालेका हुन् ।
मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सेयर धितो ऋणको सीमा ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्यादिएसँगै बैंकहरुलाई लगानीको दायार फराकिलो बनाइदिएको छ ।
यस्तै,सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङन गर्दा विद्यमान १८० दिनको व्यवस्थालाई परिवर्तन गरी १२० दिनको औसत मूल्यका आधरमा मूल्यांकन हुने व्यवस्था गरिदिएको छ ।
मौद्रिक नीतिले सेयर बजारमा लगानीको वातावरण बनाइदिएसँगै पछिल्ला दिनहरुमा सेयर धितोमा कर्जा लिनेको संख्या समेत बढ्दै गएको छ । अहिले बैंकहरुले न्यूनतम ९.३२ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म सेयर धितोकर्जा दिइरहेका छन् ।
हालसम्म राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लगायत १ दर्जन बैंकले सेयर धितो कर्जा योजना सार्वजनिक गरेका छन् ।

जसमध्ये नेपाल बैंकले सबैभन्दा सस्तो ९.०४ प्रतिशत ब्याजदरमै सेयरधितो कर्जा योजना ल्याएको छ । नेपाल बैंकले ६.९९ प्रतिशतको आधार दरमा २०५ देखि ५.०२ प्रतिशत प्रिमियम जोडेर न्यूनमत ९.०४ देखि १२.०१ प्रतिशत ब्याजमा सेयर कर्जा प्रदान गरिरहेको छ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ९.३२ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिने भएको छ ।
यस्तै, ग्लोबल आईएमई बैंकले ९.४९ प्रतिशत ब्याजदरमा सेयरको धितो कर्जा दिने भएको छ । हिमालयन बैंकले पनि ९.८९ प्रतिशत ब्याजदरमा सेयर धित्तो कर्जा योजना ल्याएको छ ।
सनराइज बैंकले ९.९५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा (लोन एगेनिष्ट सेयर) दिने भएको छ ।
बैंक अफ काठमाण्डूले ८.९१ प्रतिशतको आधार दरमा ०.५ देखि ५ प्रतिशतसम्म जोडिने गरी सेयर धितो कर्जाको व्यवस्था गरेको छ।
सिटिजन्स बैंक बैंकले ९.४ प्रतिशतको आधार दरमा ०.०५ देखि ५ प्रतिशत प्रिमियम ब्याजमा सेयर कर्जा प्रदान गरिरहेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेकै दिन ९.९९ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने स्कीम ल्याएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत ब्याजदरमा सांग्रिला सेयर कर्जा योजना ल्यायो छ । यस योजना अन्तर्गत सेयर खरीद अगाडिनै कर्जा सीमा प्रदान गरिने तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।
माछापुच्छ्रे बैंकले १४.२१ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने भएको छ ।
एसबीआई बैंकले १४.२५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने भएको छ । साउन १ गतेबाट लागू हुने गरी उक्त सुविधा दिन थालेको हो ।