विश्व बजार नै तरंगित पार्दै किन अचाक्ली बढिरहेछ सुनको भाउ ? यस्ता छन् कारण

काठमाडौं । पछिल्लो समय सुनको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ । मूल्य बढ्न थालेपछि देश विदेशमा यसको चर्चा हुन थालेको छ ।

 

कोरोना महामारीका कारण विश्व आर्थिक मन्दीको संकेत देखा पर्न थालेको आँकलन गर्दै मानिसलगायत विश्वका अधिकांश देशका केन्द्रीय बैंकहरु समेतले आफ्नो लगानीलाई अन्य क्षेत्रबाट सुनतर्फ मोड्न थालेपछि सुनको भाउ झन बढ्न थालेको अनुमान गरिएको हो ।

 

अहिले अन्तर्राष्ट्रिय ठूला लगानीकर्ताले कच्चा तेल, सेयर मार्केट लगायत क्षेत्रमा गरेको लगानी पहँलो धातुमा डाइभर्ट गर्न थालेको अनुमान गरिएको छ । कोरोनाले पूरै विश्वको अर्थतन्त्र नै नराम्ररी प्रभावित भएकाले लगानीकर्ताले आफ्नो लगानी सुनमा सुरक्षित गर्न थालेको आँकलन गरिएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्याङ्कन डलरमा गरिन्छ । डलर घट्नु भनेको अन्य मुद्राको तुलनामा कमजोर हुनु हो, यसको क्रयशक्ती घट्नु हो । तर्सथ, डलरको मूल्य घट्दा अन्य मुद्राको क्रयशक्ति बढ्छ र कमोडिटीको माग बढ्ने हुन्छ, सुनको माग पनि बढ्छ जसले गर्दा सुनको भाउमा वृद्धि हुन्छ ।

 

विश्वका ठूला अर्थतन्त्र भएका अमेरिका, चीन, वेलायत लगायत देशका केन्द्रीय बैंक तथा डलर अर्बपतिहरुले समेत सुनमा लगानी गर्न थालेका छन् । जस्तोसुकै संकटमा पनि काम लाग्ने र विश्वभर एउटै मूल्य हुने हुनाले मानिसहरु सुनमा गरिएको लगानी सुरक्षित हुने विश्व्व्यापी मान्यता छ । कमोडिटी बजारमा सर्वाधिक लगानी गरिने वस्तुमा सुन नै पर्छ । केन्द्रिय बैंकहरुले पनि ठूलो मात्रामा सुन भण्डारण गरेका हुन्छन् ।

 

विश्वले झेलेको सनु १९३० को महामन्दी र सन् २००८ मा भएको आर्थिक मन्दीको बेलामा समेत विश्वका ठूला लगानीकर्ताले आफ्नो लगानी सुनमा सुरक्षित गरेका थिए । आर्थिक संकटको बेलामा विगतमा पनि विश्व सेयर बजारसहित अन्य क्षेत्र आरोलो लाग्दा सुनको मूल्य निरन्तर उकालो लाग्ने गरेको थियो ।र, अहिलेको संकटमा पनि त्यसैले निरन्तरता पाएको जानकारहरु बताउँछन् ।

 

किन अचाक्ली बढीरहेछ सुनको भाउ

 

अन्तराष्ट्रिय बजारमा सुनको भाउ १ वर्षको अवधिमा प्रतिऔंस करिब ६०० डलरले बढेको छ । सन् २०१९ जुलाईमा प्रतिऔंस १४२५ डलर रहेको सुनको भाउ अहिले करिब २ हजार डलर नजिक पुगेको छ ।

 

सुनको मूल्य बढ्नुको मुख्य कारण तुलनात्मक रुपमा अन्तर्राष्ट्रि बजारमा डलरको अवस्था कमजोर हुनाले हो । सामान्य मानिसहरुले पनि जाने–बुझेको कुरा के हो भने डलरको मूल्य घट्दा सुन महंगिन्छ । र, डलर बढ्दा सुन सस्तिन्छ । अर्थतन्त्रमा कुनै दुई वस्तुको यस्तो सम्बन्धले यी दुई वस्तु एक-अर्काका विकल्प हुन भन्ने जनाउँछ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्याङ्कन डलरमा गरिन्छ । डलर घट्नु भनेको अन्य मुद्राको तुलनामा कमजोर हुनु हो, यसको क्रयशक्ती घट्नु हो । तर्सथ, डलरको मूल्य घट्दा अन्य मुद्राको क्रयशक्ति बढ्छ र कमोडिटीको माग बढ्ने हुन्छ, सुनको माग पनि बढ्छ जसले गर्दा सुनको भाउमा वृद्धि हुन्छ ।

 

यस्तै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको अर्को कारण पछिल्लो समय चर्किँदै गएको विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीन बीचको व्यापार युद्ध हो । विश्वको आर्थिक महाशक्ति मुलुकहरु एक अर्को देशमा उत्पादित वस्तुको व्यापारमा प्रतिबन्ध गर्ने खेलमा लाग्दा विश्व अर्थतन्त्र तरगिंत बनेको र त्यसको असर सुन बजारमा परेको अन्तर्राष्ट्रि सञ्चार माध्यम बीबीसीले लेखेको छ ।

 

‘यसरी विश्व अर्थतन्त्रमा नै हलचल ल्याउने महाशक्ति देशबीचको व्यापार युद्ध, केन्द्रीय रिजर्भ बैंकहरुको ब्याजदर नीति जस्ता कारणले विश्वका ठूला कम्पनीको सेयर र अन्य सम्पत्तिमा आउने गिरावटको जोखिमले लगानीकर्ताहरु सुनमा लगानी गर्न आर्कषित हुने र यसले अन्य स-सना र नयाँ व्यावसायमा धक्का पुग्ने गर्दछ’ बीबीसीको लेखमा उल्लेख गरिएको छ ।

 

अहिले कोरोनाका कारण अन्य क्षेत्रमा गरिएको लगानी असुरक्षित हुने, मँहगी बढ्ने, रोजगारी गुम्नेसम्मको जोखिम रहेको अवस्थामा सुनमा असीमित लगानी बढ्ने हुँदा यसको असर सुनको मूल्यमा पर्ने गएको देखिन्छ  ।

 

नेपाली बजारमा वर्षदिनमा प्रतितोला ३५ हजार बढ्यो

 

अन्तराष्ट्रि बजारकै प्रभाव अनुसार नेपाली बजारमा सुनको भाउ वर्षदिनमा करिब ३५ हजार रुपैयाँले बढेको छ ।

 

नेपाल सुनचाँदी महासंघका अनुसार २०७६ साउन १ गते सुनको भाउ प्रतितोला ६४ हजार ५०० रुपैयाँ थियो भने बिहीबार ( २०७७ साउन १५ गते) ९९ हजार रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

 

पछिल्लो १ वर्षमै नेपाली बजारमा सुनको भाउ प्रतितोला ३४ हजार ५०० रुपैयाँ बढेको छ । नेपालमा पनि विदेशबाट आयात गरिने भएकाले अन्तर्राष्ट्रिय बजार अनुसार नै सुनको मूल्य निर्धारण हुने गर्दछ ।

 

अन्तर्राष्ट्रिय बजारमै भाउ बढेकाले नेपालमा पनि मूलय बढेको सनचाँदी महासंले जनाएको छ । साथै सरकारले चालू आवको बजेटमार्फत सुनको भन्सार दर बढाउँदा पनि मूलय वृद्धिमा सहयोग पुगेको छ । बजेटले प्रतितोला २ हजार ३०० रुपैयाँ भन्सार वृद्धि गरेको थियो ।

 

सुनको भाउ अचाक्ली बढेसँगै कारोबार शून्य प्रायः भएको महासंघले जनाएको । विगतका वर्षहरुमा चाडबाड नजिकिएसँगै सुनको कारोबार बढ्ने भए पनि यस वर्ष भाउ अति महँगिएकाले कारोबार ठप्पप भएको महांघको भनाइ छ । अहिले बजारमा सुन किन्नेभन्दा पनि बेच्ने मानिस बढेको व्यावसायीहरु बताउँछन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आइपीओ खुल्यो, कति कित्ता भर्ने Read Previous

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आइपीओ खुल्यो, कति कित्ता भर्ने

चौथो चरणको उद्धार उडान शुरु, एक हप्तामा ५४ चार्टर्ड उडान हुने Read Next

चौथो चरणको उद्धार उडान शुरु, एक हप्तामा ५४ चार्टर्ड उडान हुने