एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आइपीओ खुल्यो, कति कित्ता भर्ने
चाणक्य पोष्ट
प्रकाशित : 8:45 am, शुक्रबार, साउन १६, २०७७

काठमाडौं । गैर आवासीय नेपालीहरुको लगानी रहेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) खुलेको छ ।

 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६० कित्ता आइपीओ निष्काशन गरेको हो ।

 

कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६० कित्तामध्ये १ लाख ६९ हजार ९०२ कित्ता (५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोष र ६७ हजार ९६१ किता (२ प्रतिशत )सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आइपीओमा छिटोमा साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त मिति भित्र सबै आइपीओ बिक्री हुन नसकेमा ढिलोमा भदौ ३ गते हुनेछ।

 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ।

 

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

 

हाल कम्पनीको जारी चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.६ रुपैयाँ रहेको थियो भने प्रतिसेयर आम्दानी २.४ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।

 

कम्पनीले १४.३ मेगावटको माथिल्लो मैलुङ खोला हाइड्रोपावर, २८.१ मेगावाटको स्वीट गंगा हाइड्रोपावर, ७३ मेगावाटको मध्य तमोर हाइड्रोपावर, २७ मेगावाटको हिमालयन पावर पार्टनर लगायतका परियोजनामा लगानी गरेको छ ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

कम्पनीले सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता सेयर निष्काशन गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

सो अनुसार कम्पनीको आइपीओ ३ लाख १६ हजार १८ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्दछ। तसर्थ ३ लाख १६ हजार जनाले मात्र भरे भने सबैले १० कित्ता पाउछन् भने सो भन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

हालसम्म खुलेका आइपीओमा ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।