काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा रहेका ६ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ ।
चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर मात्रै जहाज छन् । बन्दाबन्दीको चार महिनापछि शुरु हुन लागेको आन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीले उडान तयारी तीव्र पारिरहँदा निगमसँग भने आन्तरिक उडानका लागि जहाजै अभाव भएको हो ।
निगमसँग अहिले भएका १७ देखि १९ सिट क्षमताका दुई जहाजले दुर्गम भेगमा सेवा दिने जनाइएको छ । जहाज अभावले तत्कालै टङ्क रुटमा उडान सञ्चालन गर्न नसकिने निगमका प्रवक्ता अर्चना खड्काले बताए ।
निजी क्षेत्रका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक उडान गर्नुपर्ने बाध्यता रहेकाले निगमले चाँडोभन्दा चाँडो जहाज खरिद गर्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ । निगमले देशका २६ विमानस्थलमा उडान गर्दै आएको छ ।
चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेपछि निगमले आन्तरिक उडानका चीनबाट ल्याइएका छ जहाजको उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो । निगम सञ्चालक समितिको गत असार १६ गतेको बैठकले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
निगमलाई चीन सरकारको सहयोगमा प्राप्त भएका दुई (एमए-६ र वाई-१२ ई) तथा सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका चार (एक एमए-६० र तीन वाई-१२) जहाज गरी ६ जहाज निगमसँग रहेका थिए ।
चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको भन्दा करिब ३५ प्रतिशतले बढिरहेको तथा जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आफैं उत्पादन गर्नुपर्ने हुँदा हाल सञ्चालनमा रहेका एयरबस-३२० को भन्दा महङ्गो पर्ने भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको हो ।
एकातर्फ आन्तरिक उडानमार्फत दुर्गम भेगमा सेवा पुर्याउनुपर्ने निगमको सामाजिक दायित्व छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय उडानका लागि सामान दुई एयरबस ए- ३२० र ३३० जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषबाट लिएको ऋण तिर्न पनि नसक्ने अवस्थामा पुग्नु निगमका लागि चुनौती थपिएको छ ।
सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णयसँगै निजी हवाई सेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गर्दै उडानको तयारी तीव्र पारेका छन् । यद्यपि राष्ट्रिय ध्वजावाहक निगमसँग आन्तरिक उडानका लागि एउटा पनि जहाज नहुनु विडम्बनाको विषय हो ।
आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयरसँग ११ एटीआरसहित १३ र यती एयरलाइन्ससँग पाँच एटीआरसहित १० जहाज छन् । श्री एयरलाइन्ससँग पनि ठूलो क्षमताका छ जहाज छन् । सौर्य, सीतालगायत एयरलाइन्ससँग पनि जहाज प्रशस्तै छन् । राष्ट्रिय ध्वजावाहकले आन्तरिक उडानका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक व्यापार गर्नुपर्ने दायित्व चुनौतीपूर्ण छ ।
निगमसँग अन्तरराष्ट्रिय उडानमा दुई वाइडबडी ए-३३० र न्यारोबडी ए-३२० जहाज छन् । निगमले भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।