अब नबिल बैंकका ग्राहकले चेक बिनै १ लाखसम्म नगद झिक्न मिल्ने
चाणक्य पोष्ट
प्रकाशित : 11:51 am, बुधबार, साउन १४, २०७७

काठमाडौं । नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सेवाको सुरु गरेको छ। ‘स्क्यान एन्ड वीड्र’मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न सक्ने बैंकले जनाएको छ ।

 

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ। नबिल बैंकले चाँडै यो सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने भएको छ। स्क्यान एन्ड वीड्रमार्फत नबिल बैंकका ग्राहकले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ।

 

नबिल बैंकका ग्राहकले चेक/एटीएम कार्ड बोक्न बिर्सिए पनि मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर बैं‌क काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरेर खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

 

ग्राहकले क्यूआर कोड स्क्यान गर्दा स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले ग्राहकलाई झिक्न खोजिएको रकम दिनुपर्नेछ।

 

बैंकले हाल देशभरका ११८ शाखाहरु, १७८ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।