सगुनको सेयरमा नेपालबाट लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफूबाट सार्वजनिक निष्काशन स्वीकृत प्राप्त नगरेका कम्पनीको सेयरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ ।

 

पछिल्लो समय विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशनले विश्वभरका नेपाली लगानीकर्तालाई सेयरमा लगानी गर्न जारी भएकोको सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बोर्डले त्यसमा सचेत हुन नेपाली लगानीकर्तालाई आग्रह गरेको हो ।

 

नेपालबाट कानुनी रुपमा नेपाल बाहिर लगानी गर्न नमिल्ने व्यवस्था रहेका बेला सगुनले नेपालबाट लगानी जुटाउन खोजेको भन्दै बोर्डले त्यो अवैध रहेको  जनाएको छ ।

 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ९१० मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९ (१) मा संगठित संस्थाले एकपटकमा ५० जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था छ ।

 

‘बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्नुहुन सर्वसाधारण लगानीकर्ताहरुलाई अनुरोध गरीन्छ । साथै प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्काशनमा लगानीकर्तालाई लक्षित गरी कुनै पनि व्यक्ति वा संस्थाले संचारका माध्यम मार्फत त्यस्तो सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्न नगराउन समेत यो सूचना प्रकाशन गरिएको छ,’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

 

सगुनले पछिल्ला दिनहरुमा विश्वभर रहेका नेपालीलाई लक्षित गर्दै नेपाली सञ्चार माध्यममा विभिन्न किसिमका सूचना, विज्ञापन तथा लेखहरु प्रकाशन गराउँदै आएको छ । यसबाट नेपाली लगानीकर्ता पनि आकर्षित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अवैध किसिमले सगुनमा लगानी नगर्न बोर्डले आग्रह गरेको हो ।

अब नबिल बैंकका ग्राहकले चेक बिनै १ लाखसम्म नगद झिक्न मिल्ने Read Previous

अब नबिल बैंकका ग्राहकले चेक बिनै १ लाखसम्म नगद झिक्न मिल्ने

कोरोनाका कारण विश्व पर्यटनमा ३ खर्ब २० अर्ब डलर राजस्व घाटा Read Next

कोरोनाका कारण विश्व पर्यटनमा ३ खर्ब २० अर्ब डलर राजस्व घाटा