काठमाडौं । वाणिज्य बैंकहरुलाई फोर्स बिग मर्जर गराउने नीति तय गरेको नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई पनि फोर्स मर्जर गराउने भएको छ ।
मौद्रिक नीति कार्यान्वयन गर्न मंगरलबार सर्कुलर जारी गर्दै राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तहरुलाई फोर्स मर्जर गराउने नीति लिएको हो ।
केन्द्रीय बैंकले लघुवित्त वित्तिय संस्थाको लागि परिपत्र जारी गर्दै एउटै व्यक्ति र समूहद्वारा प्रबर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व र नियन्त्रणमा रहेका लघुवित्त संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका संस्थाहरुलाई एकआपसमा गाभ्न/गाभिन निर्देशन दिने जनाएको छ ।
राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा मात्रै नभएर हकप्रद निष्काशनमा पनि रोक लगाएको छ । यससँगै अब लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्काशन गर्न नपाउने भएका छन् ।
मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पूँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तीय संस्थाहरुलाई यस बैंकबाट हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान गरिने छैन,राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।